कोहलपुर । कोहलपुर नगरपालिकाले सुत्केरी हुने गाई र भैसीलाई प्रति बेत दुई हजार भत्ता दिने कार्यक्रमलाई नयाँ आर्थिक वर्षमा पनि निरन्तरता दिने नीति पास गरेको छ । पालिकाले अगामि दिनमा पशु सुत्केरी भत्ता बढाउँदै लैजाने जनाएको छ । कोहलपुरलाई दुधमा आत्मनिर्भर बनाउन उक्त कार्यक्रम ल्याइएको हो । कोहलपुर नगरपालिकाका लुटबहादुर रावतले पशु सुत्केरी भत्ताको निर्णय लुम्बिनी प्रदेशकै नमुना तथा पहिलो रहेको बताए । उनले उक्त कार्यक्रमले किसानहरुलाई पशुपालन गर्न उत्साह थपेको विश्वास व्यक्त गरे । पशु सुत्केरी भत्ता यो प्रदेशको पहिलो नमुना काम कोहलपुरले गरेको छ,उनले भने ।
नगर पशु शाखाका अनुसार उक्त कार्यक्रम तीन वर्ष वर्षदेखि निरन्तरता पाएको जनाएको छ । यो आर्थिक वर्षमा २ सय १७ गाई ३ सय ५५ भैसी गरी ५ सय ७२ पशु सुत्केरी भत्ता वितरण गरिएको छ । त्यस्तै पालिकाले किसानहरुको सहजताका लागि पशु अनुदान, पशु उपचार, निशुल्क भ्याक्सिनेशन, कृतिम गर्भाधान तथा नश्ल सुधार लगायत घाँसको बिउ सहयोग गर्दै आएको छ । यसका साथै कोहलपुरले एक वर्षमा आलु उत्पादनमा आत्मनिर्भर हुने नीति पास गरेको छ । तीन वर्षमा गहुँ र चार बर्षमा चामलमा आत्मनिर्भर हुने गरी नीति ल्याएको नगरपालिका प्रमुख रावतले जनाए ।