नेपालगन्ज । कोहलपुर नगरपालिकाले प्रत्येक वर्ष एक जना बिद्यार्थीलाई एमबीबीएस पढाउने नीति तथा कार्यक्रममा पारेको छ । त्यसका लागि कोहलपुरमै रहेको शिक्षण अस्पताल कोहलपुरसंग समन्वय गरिने छ । नगरपालिका प्रमुख लुटबहादुर रावतले एमबीबीएस पढाईका लागि मेडिकल कलेजले कति छुट गर्न सक्ने बारे छलफल भइरहेको बताए । उनका अनुसार मेडिकल कलेजले दिने छुटबाहेकको रकम कोलपुर नगरपालिकाले व्यहोर्ने छ । उनले भने, नीति तथा कार्यक्रममा डाक्टर उत्पादन गर्ने विषय परिसकेको छ । बजेटको व्यवस्थापन पनि हुन्छ । नगरपालिका प्रमुख रावतले हरेक वर्ष उक्त कार्यक्रमलाई निरन्तरता दिने जनाए । आफ्नै नगरपालिकामा मेडिकल कलजे भएपछि त्यसको फाईदा स्थानीय बिद्यार्थीहरुले लिनसकुन भन्ने उदेश्य कार्यक्रम ल्याइएको हो, उनले भने । लुम्बिनी प्रदेशमा पहिलो पटक बर्र्दियाको बारबर्दिया नगरपालिकाले हरेक वर्ष एक जना जेहेनदार बिद्यार्थीलाई एमबीबीएस पढाउने नीति तथा कार्यक्रम गत वर्ष ल्याएको थियो । यस पल्ट भने बाँकेको कोहलपुर नगरपालिकाले डाक्टर उत्पादनदन गर्ने कार्यक्रम ल्याएको हो ।