सरकारी लापरवाहीले सीमामा तटबन्धजस्तै पक्की सडक,१० वर्षदेखि सरकार चुप – Dastabej

सरकारी लापरवाहीले सीमामा तटबन्धजस्तै पक्की सडक,१० वर्षदेखि सरकार चुप

भारतीय पक्षले २०६८ मंसिरमा सडक निर्माणका लागि स्थलगत सर्वेक्षण सुरु गरेपछि स्थानीय विरोधमा उत्रिए । तर सरकारी सहयोग नपाएपछि स्थानीय चुप लागे ।


  • ठाकुरसिंह थारु

  • नेपालगन्ज — बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले २०६८ मंसिरमा सडक निर्माणका लागि स्थलगत सर्वेक्षण सुरु गरेपछि स्थानीय विरोधमा उत्रिए । उनीहरूले सरकार गुहारे । स्थानीय प्रशासनमार्फत ज्ञापनपत्र बुझाउँदै संघीय सरकारको ध्यानाकर्षण गराए । तर, कतैबाट सुनुवाइ भएन । भारतले सीमानजिक तटबन्धजस्तै सडक निर्माण जारी राख्यो । त्यही सडक १० वर्षपछि कालोपत्र निर्माण गरिएको छ । दशगजानजिक सडक तटबन्धजस्तो बनेको छ । उक्त सडकले वर्षाको पानीको प्राकृतिक बहाव छेक्दा जिल्ला डुबानको जोखिमममा परेको छ ।
    भारतीय पक्षले जिल्लास्थित सीमासँगै जोडेर ३० मिटर चौडा र तीन मिटर अग्लो तटबन्धजस्तो सडक निर्माण गरेको हो । अन्तर्राष्ट्रिय कानुनअनुसार सीमासँग जोडेर कुनै संरचना निर्माण गर्न नपाइने भए पनि बलमिच्याइँ गरिएको हो । नेपाल सरकारले चासो नदिएकाले बाँकेको पूर्व कटकुइयादेखि ६५ किलोमिटर लम्बाइ रहेको सीमामा तटबन्धजस्तो सडक निर्माण भएर सञ्चालनमा आइसकेको छ । अधिकांश स्थानमा सडक कालोपत्र छ । उक्त सडक सीमाबाट करिब पाँच मिटर दूरीमा मात्रै निर्माण गरिएको छ । डुडुवा गाउँपालिका–६ हिरमिनियाका बासिन्दा अशोक मौर्यको अध्यक्षतामा सीमा सडकविरुद्ध संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका थिए । तर, सरकारको साथ नपाएपछि उनीहरू पछाडि हटे । ‘सीमामा सडक बन्नु हुँदैन भनेर हामीले जिल्ला प्रशासनमा धर्ना दियौं । ज्ञापनपत्र बुझायौं तर केही सीप लागेन,’ संघर्ष समिति अध्यक्ष मौर्यले भने, ‘सरकार नै चुप लागेर बसेपछि हामीले केही गर्न सकेनौं । पारि पक्की सडक बनिसक्यो ।’ सीमा सडक बन्नुअघि बाँकेका पश्चिमी क्षेत्रहरू पहिले डुबानमुक्त मानिन्थे । नेपाल–भारत सीमासँग जोडिएका डुडुवा गाउँपालिकाको पश्चिम भाग, नेपालगन्ज उपमहानगरपालिका, जानकी, खजुरा र उत्तरको बैजनाथ गाउँपालिका वर्षामा पनि बाढीले सुरक्षित थिए । बाढीबाट सुरक्षित मानिएका ती क्षेत्र अहिले सामान्य वर्षामा डुबानमा पर्न थालेका छन् । भारतीय पक्षले एकतर्फी रूपमा सीमासँग जोडेर तटबन्धजस्तो सीमा सडक निर्माण गरेपछि डुबानमुक्त क्षेत्र बाढीको चपेटामा पर्न थालेका हुन् ।
    भारत सीमासँग जोडिएको सीमावर्ती डुडवा–६ का वडाध्यक्ष मोहन मिश्राले स्थानीयले आन्दोलन गर्दा सरकार नबोलेपछि संघर्ष समिति निष्क्रिय बनेको बताए । ‘१० वर्षअघि नै यहाँका स्थानीय सीमा सडकको विरोधमा उत्रिएका थिए । प्रधानमन्त्रीलाई गुहारे । केही नलागेपछि समिति निष्क्रिय भयो,’ उनले भने, ‘स्थानीयले विरोध गरेपछि भारतीय पक्षले सडकमा पानी निकासका लागि कल्भर्टहरू राखिदिएको छ ।’भारतले डेढ दशकअघि सीमासँगै जोडेर राप्ती नदीमा निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा मार्जिनल तटबन्धका कारण बाँकेका पूर्वी–दक्षिणका एक दर्जनभन्दा बढी गाउँ डुबान, कटान र पाटनमा पर्दै आएका छन् । अहिले सीमा सडकले पानीको बहाव छेकेपछि बाँकेका अधिकांश क्षेत्र डुबानमा पर्न थालेका छन् । गत साता दुई दिनसम्म परेको वर्षाले सीमावर्ती गाउँ जलमग्न भए । सीमा सडकले पानीको बहाव छेक्दा भारतीय सीमावर्ती जानकी गाउँपालिका–१ का स्थानीयको बिचल्ली हुने गरेको छ । उनीहरूले सीमा सडक भत्काउन मागसमेत गर्दै आएका छन् । ‘यो गाउँ यसअघि कहिल्यै पनि डुबानमा परेको थिएन । भारतले सीमामा सडक बनाएपछि थोरै वर्षामा पनि डुबान हुन थालेको छ,’ जानकी–१ का वडाध्यक्ष मोहम्मदरजा राईले भने, ‘भारतले सीमामा सडक निर्माण गर्न सुरु गरेलगत्तै सरकारलाई जानकारी गराएका थियौं तर केही पहल भएन ।’

    भारतले सन् १९९९ देखि २००० मा नेपाली भूमिसँगै जोडेर साढे २२ किलोमिटर लम्बाइ, पाँच मिटर चौडाइ र पाँच मिटर उचाइ भएको कलकलवा मार्जिनल तटबन्ध डुडवा गाउँपालिकाको होलिया क्षेत्रमा निर्माण गरेपछि नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका दर्जनौं गाउँ डुबान र कटानमा पर्दै आएका हुन् । भारतीय पक्षले फेरि पनि बाँकेको सीमासँगै जोडेर ३० मिटर चौडाइ र तीन मिटर अग्लो तटबन्धजस्तो सडक निर्माण गरेपछि जिल्ला डुबानको जोखिममा परेको हो । पूर्वी क्षेत्रमा निर्माण गरिएको सीमा सडकमा कालोपत्रसमेत भइसकेको छ । पश्चिम क्षेत्रमा सीमा सडक निर्माण भइरहेको छ । प्राकृतिक रूपमा हुँदै आएको पानी निकासलाई सीमा सडकले छेकेपछि डुबानको खतरा झन् बढेको हो । नेपालगन्ज उपमहानगरको पानीको निकास पनि सीमा सडकले छेकेपछि डुबान हुन थालेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले बाढी र डुबान गर्ने लक्षमणपुर ब्यारेजको निरीक्षण गरी त्यहाँको अवस्था बुझेको बताए । उनले सडक सीमाबारे भने भारतीय अधिकारीहरूसँग कुनै छलफल नभएको जनाए । ‘सीमा सडक बनिसक्यो कालोपत्र पनि भइसक्यो, त्यसबारे के बोल्नु छ र अब ?,’ उनले भने । सीमा समस्याका बारेमा स्थानीय प्रशासनले कुनै निर्णर्य गर्न नसक्ने उनले बताए ।

  • २१ असार २०७८, सोमबार १०:१५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु