परीझै बर्दियाको फुच्चे पालिका – Dastabej

परीझै बर्दियाको फुच्चे पालिका


  • दस्तावेज

  • बर्दिया । दक्षिणतर्फ बगेको कर्णाली नदी चिसापानी क्षेत्रबाट दुई चिरा परेको छ । पुर्बपश्चिम हुँदै भँगालोले घेरेर टापु बन्यो । टापुको नाम हो, गेरुवा गाउँपालिका । उक्त पालिका जिल्लाकै सबैभन्दा कान्छो हो । तर जैबिक बिबिधताले उत्तिकै धनी छ । प्रकृतिले पाएको उपहारको सदुपयोग गर्दै पालिका पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न लागिपरेको छ । उसले नीति तथा कार्यक्रम बनाएरै कार्यान्वयनमा जुटेको छ । बर्दिया राष्ट्रिय निकुन्जसंग जोडिएका कारण पर्यटनका लागि थप बल पुगेको छ । पालिकालाई मध्यवर्ती वनले घेरेको छ । बन्यजन्तु सहजै देख्न सकिने भएकाले पर्यटकहरुको रोजाईमा परेको हो । ‘हाम्रो पालिका प्रकृतिकरुपमा निकै धनी छ । यसको सदुपयोग गरेर पर्यटकीय क्षेत्रका रुप दिन खोजेका छौँ,’ गाउँपालिका प्रमुख जमानसिंह केसी भन्छन्,‘पर्यटकीय गन्तब्यले नै यहाँका सर्वसाधारणहरुको आर्थिकस्तर उठ्न सक्छ ।’ पर्यटकहरुलाई कर्णाली र बबई नदीमा र्याफ्टीङ गराउन सकिन्छ ।
    पालिकाले स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि ६ वटै वडामा होमस्टेहरु सन्चालनमा ल्याउन थालेको छ । वडा न. १ जनकनगरमा दर्जन बढी होमस्टे सन्चालमा आईसकेको छ । वडा न. ५ बन्जरीया, वडा न. ४ गोला गाउँमा होमस्टे सन्चालनको तयारीमा छ । होमस्टेले स्थानीयहरुले आम्दानी गर्न थालेका छन् । त्यससंगै परम्परागत खानपीन र परम्परा पनि पर्वद्धनमा सहयोग पुगेको छ । पालिकाका सामुदायिक वनमा पाटे बाघ, भालु, हात्ति, मृग लगायतका दुर्लभ बन्यजन्तु र चराहरु हेर्न पाईन्छ । चारैतिर वन भएका कारण हरियाली छाएको छ । यहाँको वातावरण निकै शान्त छ । ‘गेरुवा टापु पर्यटकीय क्षेत्र भएर पनि ओझेलमा परेको छ । यसको ब्यापक प्रचारप्रसारमा जोड दिइरहेका छौँ,’ पालिकाका प्रमुख केसी भन्छन्,‘नजिकको ठाकुरद्धारा घुम्न पर्यटकहरु आउँछन् । जोडिएको गेरुवालाई गन्तब्य बनाउन सक्ने हो भने पर्यटकहरुको बसाई थपिन्छ । र, स्थानीयले त्यसको लाभ पाउनसक्छन् ।’
    उक्त पालिका ७८ दशम्लब ४१ वर्ग कि.मि. क्षेत्रफल फैलिएको छ । पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज छ । पालिकामा मध्यवर्ती जंगल अधिक छ । जनसंख्या ४० हजार ६ सय ५४ छ । साविकका पाताभार, गोला, पशुपतिनगर र मनाउ गाविसलाई गाभेर ६ वडा कायम गरी पालिका बनाइएको हो । यहाँको मुख्य व्यवसाय कृषि हो । स्थानीयबासिन्दाको आम्दानीको अन्य मुख्य श्रोत भनेको साना व्यापार, सेवामुलक व्यवसाय र वैदेशिक रोजगारी बनेको छ । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढेको छ । पर्यटनको विकास हुनसके युवाहरुले गाउँमै रोजगारी पाउने र बिदेशिने क्रम कम हुने पालिकाको विश्वास छ । ‘प्रकृतिले पालिकालाई बरदान दिएको छ । तर यसको विकास गर्न नसकिएकाले ओझेलमा परेको हो,’ स्थानीय अगुवा जनक चौधरी बताउँछन् ।

    पालिकाले पर्यटकहरुका लागि केही शुल्क लिनसक्ने कानुन पारित गरेको छ । तर हालका लागि भने पर्यटकहरुले घुमघामका लागि कुनै शुल्क तिर्नु परेको छैन । ‘अहिले पर्यटकीय क्षेत्र बनाउने क्रममै छौँ,’ पालिका प्रमुख केसीले भने,‘पर्यटकीय क्षेत्रले नै यहाँको आर्थिकस्तर माथि उठ्न सक्छ ।’ यही क्रममा ओझेलमा परेका बर्दियाका पर्यटकीय क्षेत्रको प्रचार हुने छ ।

  • २२ असार २०७८, मंगलवार १४:४६ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी