काठमाडौं — बगदादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी रकेट प्रहार भएको छ । इराकी सेनाका अनुसार अमेरिकी दूतावासलाई लक्षित गरी तीनवटा रकेट प्रहार गरिएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई हवाला दिंदै इकान्तिपुरले जनाए अनुसार पछिल्लो समय इराक र सिरियामा रहेका अमेरिकी कूटनीतिज्ञ र सेनालाई लक्षित गरी आक्रमण बढेको छ । रोयटर्सका अनुसार अहिलेसम्म अमेरिकी कूटनीतिज्ञ र सेनालाई लक्षित गरी कम्तीमा १४ वटा रकेट प्रहार गरिएको छ । आक्रमणमा २ जना अमेरिकी कर्मचारी घाइते भएका छन् ।अहिलेसम्म आक्रमणको कसैले पनि जिम्मा लिएको छैन । तर इराक–सिरिया सीमामा रहेका इरान समर्थित लडाकू समूहले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । गत महिना अमेरिकी हवाई आक्रमणमा आफ्ना ४ सदस्य मारिएपछि इरानसमर्थित इराकी लडाकू समूहले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेको थियो । इराकी सुरक्षा अधिकारीका अनुसार बगदादको ग्रिन जोनमा रहेको अमेरिकी दूतावासमा बिहीबार बिहान आक्रमण गरिएको हो । दूतावासको रकेटप्रतिरोधी संयन्त्रले एउटा रकेटलाई फर्काइदिएको थियो भने एउटा दूतावास परिसरनजिकै खसेको थियो । ग्रिन जोनमा सरकारी कार्यालय तथा विदेशी नियोगका कार्यालयहरू रहेका छन् ।