नेपालगन्ज । यस क्षेत्रकै प्राकृतिकरुपमा रहेको ठूलो बढैया ताल संरक्षण समितिको सक्रियतापछि तालमा चराका बचेराहरु हुर्किन पाएका छन् । बढैयाताल संरक्षण उपसमितिले ताल परिसर क्षेत्रमा मानिसहरुको प्रवेशमा रोक लगाएपछि चराहरु निर्वाधरुपमा अण्डा कोरल्न पाएका छन् ।
यसअघि तालको संरक्षण हुननसक्दा मानिसहरु तालभित्र जथाभावी प्रवेश गर्ने र चराको अण्डा लैजाने गरेका थिए । १ सय १० विगहा क्षेत्रफलमा फैलिएको ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।
तर संरक्षण अभावमा भने चराहरु असुरक्षित हुँदै आएका थिए । संरक्षण समितिले चराहरु प्रजनन मौसम जेष्ठ, असार, साउन, भदौ र असोजसम्म तालमा प्रवेशमा रोक लगाएको संरक्षण उपसमितिका अध्यक्ष ठाकुरसिंह थारुले बताए ।
उनका अनुसार यसरी चराहरु निर्वाधरुपमा अण्डा पार्ने, कोरल्ने र बचेराहरु हुर्किन पाएको सम्भवतः पहिलो हो ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ५ मा पर्ने उक्त तालल कमलको फूलले ढकमक्कै ढाकिएको छ । उक्त तालमा ३१ बढी प्रजातिका स्थानीय चराहरु पाईने स्थानीय बताउँछन् ।
मुलुककै दुर्लभ प्रजातीका चरा पनि यहाँ पाइन्छन् । साइबेरिया र भारतबाट पनि पहुनाका रुपमा चरा आउँछन् । यहाँ सरास, करेङकुरुङ, साईबेरिन, हाँस, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउँ, टिमटिमा, मलाह चिल, माटी कोरी प्रजातीका चरा देख्न पाईन्छन् । त्यस्तै डुबुल्की, जलेवा, चखेवा, ७ प्रजातीका बकुला, लाल टाउके गरुड, करी साँवरी, सिलसिले, खडखडे हाँस, विजुलागैरी, हरियो टाउके, सुईपुच्छे, सिम कुखुरा लगायत प्रजातीका चार हेर्न सकिन्छ ।
तालको संरक्षणमा रैथाने थारु समुदायको परम्परा जोडिएको छ । तालमा पस्नुअघि स्थानीयले कमलको फूल टिपेर शंकर र पार्वती (लगवालगीनीया) लाई चढाउँछन् । शकर र पार्वती बह्रैयातालमा नाग र नागिनको अवरणमा घुम्न आएको विश्वास गरिन्छ । मासिकश्राव भएका बेला महिलाहरु तालमा पस्न पाउँदैनन् । फोहोर गर्न निषेध गरिएको छ ।
सिनो फाल्न पाईदैन । प्रचारप्रसार अभावमा ओझेलमा रहेको यस क्षेत्रकै बढैयाताललाई सिमसार क्षेत्रकारुपमा विकास गर्न अन्र्तराष्ट्रिय पर्यापर्यटन बिशेषज्ञाहरुले चासो देखाउन थालेका छन् । स्थानीय सरकार आउनुअघि तत्कालिन जिल्ला विकास समिति बर्दियाले तालमा व्यवसायिक माछापालका लागि ठेक्का दिएपछि तालको अस्तित्व नै धरापमा परेको थियो । तर स्थानीय सरकारले ठेक्का रद्द गरी सीमािरको रुपमा विकास गर्न सुरु गरेको छ ।