नेपालगन्ज । बर्षा समयमा खोला नदीमा पानी बढेको छ । पौडी खेल्न नजान्ने र लापरवाही गर्दा नदी र खोलामा डुबेर अनावश्यक ज्यान जाने गरेको छ । त्यसको पछिल्लो उदहण हो, बर्दिया गेरुवा गाउँपालिका ६ का १४ वर्षीय सञ्जीव विक र उनको ८ वर्षीया बहिनी दिलमाया कर्णाली नदीमा नुहाउँदै गर्दा बेपत्ता भएका छन् । उनीहरु कर्णाली नदीको सैजनाघाटमा नुहाउन गएका थिए । त्यसैगरी राजापुर ५ कि २५ वर्षीय लालसा चौधरी बूढी खोलामा नुहाउँदै गर्दा बगेर बेपत्ता भएका छन् । शुक्रबारमात्रै बर्दियामा नदी र खोलामा डुबेर तीन जना बेपत्ता भएका हुन । बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक इश्वर कार्कीले बेपत्ताहरु खोजीमा तालिम प्राप्त पौडीवाज लागिरहेको बताए ।
गएको बुधबार बाँके कोहलपुरमाको डुडुवा खोलामा पौडी खेल्ने क्रममा नेपालगन्जका तीन युवाको डुबेर मृत्यु भयो । दुई जनाको समयमै प्रहरी पुगेर उद्दार गरेको थियो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका, ११ का १८ वर्षीय राशिद जसगर, सोही ठाउँका १७ वर्षीय अरमान जसगर र १७ वर्षीय आरिफ जसगर थिए । कोहलपुर प्रहरी प्रमुख डिएपी रबिन्द्र खनालले दलदलमा फसेर युवाहरुको मृत्यु भएको जनाए ।
बाँके र बर्दियाका यी दुई घटना प्रतिनिधिमुलकमात्रै हुन । बर्षा सुरु भएपछि लापरवाहीका कारण बर्षेनी यसरी नै ज्यान जाने गरेको छ । खोला र नदीमा नुहाउँन जाँदा, बाढीका बेला दाउरा निकाल्न जाँदा बर्षेनी सर्वसाधारणहरुको ज्यान जाने गरेको हो । अभिभावकहरु रोपाईमा व्यस्त छन् । बुढापाकाहरु पनि खेतपातीमै लागेका छन् । बालवालिकाहरु पशुचौपाया हेर्न जान्छन् । खेतिपातीका कारण अभिभावकहरुले बालवालिकालाई हेर्न ध्यान दिन भ्याएका छैनन् । बालवालिकाहरु आफूखुसी खोला नदीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुनेको संख्या बढेको हो । एक सातमै बाँकेमा डुबरे ३ किशोरको मृत्यु भएको छ भने बर्दियामा दूई बालवालिकासहति ३ बेपत्ता भएका छन् । डुबेर मृत्यु हुने घटनामा लापरवाही भएको पाइएको छ । अभिभावकहरुले बालवालिकालाई समय दिन नसक्दा उनीहरु नदीखोला खेल्न जाने गरेका हुन ।
प्रहरीका अनुसारअभिभावकहरुको लापरवाहीका कारण बालवालिकाहरुको डुबेर मृत्यु हुने गरेको छ । अभिभावकहरुले ध्यान दिनसक्ने यस्ता घटनामा कमी आउने छ । खेतीपातीको समयमा पनि बालवालिकालाई परिवारका एक जनाले भए पनि ध्यान दिन जरुरी छ । स्थानीय प्रशासनले बर्षाका समयमा नदी, खोला नालामा पानी जम्ने भएका कारण पौडी नखेल्न, बालवालिकालाई एक्लै नछाड्न आग्रह गर्दै आएको छ । तर समान्य लापरवाहीका कारण मानीय क्षति हुने क्रम भने दोहोरिदै आएको छ । त्यस्तै खोला र नदीमा बाढी आएको बेला बगेर आउने काठ दाउरा झिक्ने क्रममा बगेर डुबेर मृत्यु हुने घटना हरेक बर्ष हुने गरेका छन् । बाढी आएका बेला खोला तर्ने क्रममा पनि डुबेर मृत्यु हुन सक्छ । त्यसैले सावधानी अपनाउन आग्रह गरिएको छ । त्यस्तै बाढी आएका बेला सुरक्षित स्थानबाट मात्र नदी र खोला तर्न प्रशासनले आग्रह गरेको छ । बाढीका बेला नदी र खोलामा बगेर आउने दाउरा नटिप्न सुझाव दिइएको छ ।