नेपाली सेनाको कुटाइले गया ‘स्पाइनल इन्जुरी’को सिकार भए । हाल उनी सामान्य तरिकाले हिँड्न सक्दैनन् । कतै जानुपर्दा साइकलको सहारा लिन्छन् । साथीभाइको अगाडि धेरै समय बस्न सक्दैनन् । पिसाब चुहुने समस्याका कारण डाइपर नलगाई बस्न सक्दैनन् । गयाका अनुसार,२ पुसको घटनापछि गाउँमा प्रहरीले हप्कीदप्की गर्न थाल्यो । अनुसन्धानका लागि भन्दै पक्राउ गर्न थाल्यो । घटनाकाे दिन गया आमा बसेको घरमा भेटघाटका लागि गएका थिए । तर, घटनाको सूचना पाउनासाथ उनी गाउँ फर्किए । बन्द रहेको आफ्नो किराना पसल खोले । जहाँ एकाएक दुई पुरुषलाई नेपाली सेनाले खेदिरहेको दृश्य उनको नजरमा पर्यो । संयोग भनौँ, ती पुरुष भाग्न सफल भए । तर, गया भने सेनाको पञ्जाबाट बच्न सकेनन् ।
किराना पसलमा गयाप्रसाद चौधरी र उनका छोरा ।
त्यतिबेला पसलमा आएर सेनाले उनको ठेगाना सोधेको गया सम्झन्छन् । जब उनले यही पसल नै आफ्नो घर रहेको जवाफ फर्काए, प्रहरीको बुट र लाठी उनको ज्यानमा बर्सियाे । त्यहीँ रहेका उनका साना छोरा र श्रीमती हेरिरहे, टुलुटुलु ।
रोइरहेका छोराहरू र श्रीमतीको आँसुको कुनै पर्वाह सेनाले गरेन । बस्, पिटिरह्याे गयालाई । ‘मलाई परिवारको अगाडि त्यसरी पिट्दा बालबालिकाको मानसिकतामा कस्तो असर गर्छ भन्नेसम्म उनीहरूले ख्याल गरेनन्,’ उनले शिलापत्रसँग भने, ‘कम्तीमा परिवारको अगाडि नकुटेको भए हुन्थ्यो नि ।’परिवारको अगाडि मरणासन्न हुनेगरी कुटेको सेनाले क्याम्पमा पुर्याउँदासम्म त्यो क्रम रोकेन । जब क्याम्पमा पुगे, गाउँका अन्य ४२/४३ जनालाई पनि प्रहरीले त्यहाँ पुर्याएकाे रहेछ । क्याम्पमा रहेका सबैलाई घोप्टो पारेर फलामको डन्डाले पिटेको गयाको स्मरणमा छ ।
राज्यपक्षले माओवादी भनेर कुटे पनि आफूहरू कुनै पक्षमा नरहेको दाबी गयाको छ । सामान्य खेती किसानीको भरमा जीवन धानेका गाउँलेले नकुट्न अनुनय पनि गरे । तर, सेनाले त्यसलाई सुनेन । त्यसपछि गयाले चर्को स्वरमा प्रतिवाद गर्न थाले । सत्ताको उन्मादमा मात्तिएकाले पीडितको आवाज किन सुन्थे र ? सुरक्षाकर्मीले गयाको कुरा पनि सुनेनन् । बरु उल्टै लगाएको ज्याकेट निकाली अनुहार छोपेर कुटेको उनी सम्झन्छन् । ‘मैले, सर बरु मलाई मारिदिनुस्, यसरी नतड्पाउनुस् भनेँ,’ उनी भन्छन्, ‘तर, प्रहरीमा कुनै दयाभाव थिएन । सत्ता कतिसम्म क्रूर हुँदो रहेछ भनेर त्यतिबेला थाहा पाएँ ।’सुरक्षाकर्मीले ‘तलाईं यति सजिलै मार्दैनौँ । अझै कति तड्पिन्छस् हेर्दै जा’ भनेको उनको स्मरणमा छ ।
त्यो दिनभर कुटेर छोडेपछि सेनाले १० दिनको तारिखमा बोलाउन थालेको गया बताउँछन् । अन्त्यमा गाउँका नेतालाई गुहारेर उनीहरू राज्य पक्षको पञ्जाबाट मुक्त भए । तर, गाउँवासी त्यो दिन खाएको चोटबाट भने अझै मुक्त हुन सकेका छैनन् । गाउँमा करिब ३२ जनामा दीर्घकालीन असर परेको गयाको दाबी छ । उनका अनुसार प्रहरीले कुटेका ४२ जनामध्ये ३२ जनामा यस्तो समस्या देखिएको हो । कुटाइ खाने ती ३२ जना अझै पनि दुखाइ कम हुने औषधि नखाई काम गर्न सक्दैनन् । विशेषत: जाडोको मौसममा जिउ, ढाड, कम्मर दुख्ने समस्या उनीहरूमा छ । तीमध्ये सबैभन्दा धेरै समस्या गयालाई छ ।
उपचारका क्रममा वीर अस्पतालमा गयाप्रसाद चौधरी ।
जब राज्यपक्षको जालबाट उम्किएर गाउँ फर्किए, गयाले आफ्नो स्वास्थ्यकाे ख्याल गरेनन् । कारण थियाे, परिवारकाे आर्थिक समस्या अनि श्रीमतीको किड्नी फेल । त्यसैले श्रीमतीको उपचारलाई प्राथमिकता दिँदादिँदै उनको आफ्नै स्वास्थ्य बिग्रँदै थियो । ‘मैले आफ्नाे पीडा सहेर पनि श्रीमतीको उपचारमा लागेँ । हामी दुवैको उपचार गर्न पैसा थिएन । त्यतिबेला राज्यले पनि दिएन,’ उनले गुनासो गरे । अहिले गया साइकलको सहाराबिना हिँड्न पनि सक्दैनन् । साइकल पनि राम्रो नियन्त्रण गर्न नसक्दा अधिकांश ठाउँमा लड्छन् । सामान्य अवस्थामा मोटरसाइकल बनाउने, साइकलको डिजाइन गर्ने, बिजुलीका सामान मर्मत गर्ने उनी पछिल्लो समय हिँड्न पनि नसक्ने भएका छन् ।
जनयुद्धताका राज्यपक्षको दमनकै कारण धेरै निर्दोषले गयाको हालतमा पुग्नुपरेको छ । ‘न मलाई समाजले मन पराउँछ, न परिवारले,’ गयाले भने, ‘घरिघरि मेरो दिमाग घुमिहाल्छ । आखिर कसका लागि बाँच्नु छ र ? मर्दिमजस्तो लाग्छ ।’गयाले भने व्यक्तिगत पहुँचका आधारमा केही सहयोग पाएका रहेछन् । उनका विदेशी साथी पिटर गिलले पनि गयाको उपचारदेखि अन्य धेरै कुरामा सहयोग गरेका रहेछन् । नेतालाई बिन्तीभाउ गरेर सरकारी खर्चमा उपचारका लागि उनी काठमाडौंको वीर अस्पतालसम्म आइपुगे । तैपनि निको भएन ।
पिटर गिलसँग गयाप्रसाद चौधरी
‘राज्यले मेरो जीवन बर्बाद पारिदियो । अब दिएको सहयोगले पनि के हुन्छ र ?,’ उनी भन्छन्, ‘अरुले त हामीजस्तालाई संख्यामा गनेर यति त रहेछन् नि भन्दा हुन् । तर, पर्नेलाई थाहा हुन्छ, जीवनभर अपाङ्ग हुनुको पीडा ।’हुन त अरूले गयाको जति पनि उपचार खर्च पाएका छैनन् । सोही समयमा घाइते भएका दिलीप थारू पनि दुखाइ कम हुने औषधि नखाई कामै गर्न सक्दैनन् । नियमित जसो मालिस गर्ने तेल लगाउनुपर्ने अवस्था छ ।
शाही नेपाली सेनाको यातना भोगेका दिलीप थारू ।
त्यस्तै, अर्का शुक्रबहादुर थारू छन् । जसले सशस्त्र पक्षको भन्दै युद्धकालभर माओवादीको खेदाइ सहनुपर्यो । तर, अन्तिममा त्यही माओवादी भनेर राज्यपक्षले नै कुट्यो र दीर्घकालीन रूपमा औषधिको सहारामै उनको जीवन चलेको छ । शरीर कमजोर हुने भएकाले लामो समय काम गर्न सक्दैनन, उनी । त्रिताराम थारू पनि सुरक्षाकर्मीकाे कुटाइबाट आजसम्म पीडित छन् । उनी राम्रोसँग काम गर्न सक्दैनन् । जिउ दुख्ने समस्याले उनलाई जाडो मौसममा विशेष सताउँछ । ‘म गोली (दुखाइ कम गर्ने औषधि) नखाई काम नै गर्न सक्दिनँ । यसरी कतिञ्जेल चलिएला र ?,’ उनले भने ।
सेनाको यातना भोगेका त्रिताराम थारू ।
राजापुर गाउँका राजाराम थारू पनि उस्तै समस्याले ग्रसित छन् । नियमित उपचारका लागि अस्पताल जानुपर्छ । राजापुर गाउँमा करिब ३२ जनालाई नै दीर्घकालीन समस्या देखिएको छ । गाउँका अधिकांश मानिस शरीर दुख्यो भनेर रक्सीको नशामा फसेको गया सुनाउँछन् । सेना/प्रहरीप्रति गाउँवासीको विश्वास अझै फर्किएको छैन । ‘धेरै त जिउ दुखेको भुलाउन भन्दै रक्सीको नशामा फसे । अधिकांशले पुलिसको अझै विश्वास गर्दैनन्,’ गयाले भने, ‘पुस २ गते राजापुरवासीको कालो दिन नै हो । हामी कुनै उत्साह जनाउने कार्यक्रम त्यो दिन गर्दैनौँ ।’ शिलापत्रबाट