जुलाई २५ लाई ‘वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे’ डुबेर हुने मृत्युको रोकथाम – Dastabej

जुलाई २५ लाई ‘वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे’ डुबेर हुने मृत्युको रोकथाम


  • दस्तावेज

  •  

    संयुक्त राष्ट्रसंघको महासभाले यस वर्षदेखि हरेक जुलाई २५ लाई ‘वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे’ घोषणा गरेको छ । पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्ने उद्देश्यका साथ यसको थालनी गरिएको हो । विश्वभरि बर्सेनि २ लाख ३५ हजार मानिसको पानीमा डुबेर मृत्यु हुने गरेको तथ्यांक भेटिन्छ । हामीमध्ये पनि धेरैको पानीमा डुबेर उम्केको कहालीलाग्दो अनुभव हुने गर्छ । यो समस्या निकै भयावह भए पनि, यसको रोकथामका लागि ठोस योजना हामीले बनाउन सकेका छैनौं । सन् २०१३ देखि २०१५ सम्म नेपाल प्रहरीको ‘डुबी मृत्यु’ शीर्षकमा दर्ता भएका मृत्युहरूलाई आधार मानेर गरिएको एक अध्ययनअनुसार नेपालमा खोला, पोखरी, कुलो, पानीले भरिएका खाल्डाखुल्डी तथा इनारमा डुबेर प्रत्येक वर्ष ५०० भन्दा बढीले ज्यान गुमाउँछन् । तर, डुबेर हुने मृत्युका सबै घटना हाम्रो जस्तो कम विकसित देशमा प्रहरीसम्म आइपुग्दैनन् । त्यसैले पनि यसको संख्या धेरै भएको सहजै भन्न सकिन्छ । विदेशमा पनि नेपालीहरूको डुबेर मृत्यु हुने गर्छ । अस्ट्रेलियामा मात्रै पछिल्लो सात वर्षमा १४ नेपालीको समुद्रमा डुबेर मृत्यु भयो । जापानलगायत अन्य राष्ट्रबाट पनि नेपालीहरूको डुबेर मृत्यु भएका समाचार बेलाबेला आइरहन्छन् । स्वदेश तथा विदेशमा पानीमा डुबेर भएका मृत्युको संख्याले नेपाल उच्च जोखिममा छ भन्ने देखाउँछ ।विश्व स्वास्थ्य संगठनले गत साउन ७ मा दक्षिणपूर्वी एसियाली देशहरूमा डुबेर हुने मृत्युबारे प्रतिवेदन प्रकाशित गरेको छ, जसमा चोटपटकसम्बन्धी मृत्युमध्ये पानीमा डुबेर हुने मृत्यु तेस्रो स्थानमा परेको छ । यो प्रतिवेदनअनुसार दक्षिणपूर्वी एसियामा सन् २०१९ मा मात्र ७०,००० भन्दा बढी मानिसको पानीमा डुबेर मृत्यु भएको थियो । नेपालमा १,६०० वा प्रति १ लाख जनसंख्यामा ५।४ जनाको मृत्यु भएको उल्लेख छ । मृतकहरूमध्ये पुरुषको संख्या अत्यधिक छ । त्यस्तै, मृत्यु भएमध्ये १५ देखि ४९ वर्षका ऊर्जाशील व्यक्तिहरूको संख्या उच्च छ अनि डुबेर हुने मृत्युमध्ये एकतिहाइभन्दा बढी पाँच वर्षमुनिका बालबालिका भएको पाइएको छ । यस प्रतिवेदनले मृत्युका तथ्यांकहरूलाई मात्र प्रकाश पारेको छैन, पानीबाट हुने मृत्यु पूर्णतः नियन्त्रण गर्न सकिन्छ र त्यसका लागि गर्नुपर्ने कामहरू पनि उल्लेख गरेको छ । प्रतिवेदनले दक्षिणपूर्वी एसियाका ११ राष्ट्रलाई पानीमा डुबेर हुने मृत्युको रोकथामका लागि उत्तरदायी हुन निर्देश पनि गरेको छ ।

    हाम्रोमा डुबेर हुने मृत्युका कारण कलिला बालबालिकाले अकालमा ज्यान गुमाइरहेका छन् । उनीहरूलाई पूर्णतः रोकथाम गर्न सकिने यस्तो मृत्युबाट जोगाउनु हाम्रो प्रमुख दायित्व हो । यसका लागि हामीले घरभित्र र घरनजिक पानीमा नडुब्ने वातावरण बनाउनुपर्छ । विद्यालय अलि अग्लो, वरिपरि पानी नजम्ने स्थानमा बनाउनुपर्छ । विद्यालय पानीका स्रोतनजिक छन् भने, बालबालिकालाई डुब्नबाट जोगाउन त्यस्ता स्रोतवरिपरि छेकबार लगाउनुपर्छ । बालबालिकाको अकाल मृत्यु रोक्ने दायित्व विद्यालयको पनि हो । विद्यालयले बालबालिकालाई पौडिने सीप सिकाउनु अत्यन्तै जरुरी छ । डुबेर हुने मृत्युका लागि पनि भूकम्प, बाढीपहिरोलगायत विपत्को जस्तै गरी जनचेतनामूलक कार्यक्रमहरू समुदायमा लैजानुपर्छ । अनि भवितव्य भइहाले यसबाट सुरक्षित रूपमा निकालेर उचित प्राथमिक उपचार गर्न सक्ने जनशक्ति उत्पादन गर्नु अर्को प्रमुख आवश्यकता हो ।

    नेपालमा डुबेर हुने मृत्युलाई सम्बोधन गर्ने गरी हालसम्म कुनै कानुन, नीति वा रणनीति बनेको छैन । डुबेर हुने मृत्यु रोकथामका लागि बुँदागत रूपमा १२ कानुनी प्रावधानलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । उक्त कानुनी प्रावधानमध्ये कुनैलाई पनि नेपाल सरकारले पारित गरेको छैन । यस्तो मृत्युलाई रोकथाम गर्न १३ कार्यलाई महत्त्वपूर्ण रूपमा उठाइएको छ, तीमध्ये नेपालले विपत् सूचना प्रणालीअन्तर्गत डुबेर हुने मृत्युबारे सूचना दिने प्रणाली मात्र बनाएको छ । यी तथ्यहरूका आधारमा नेपालमा डुबेर हुने मृत्युलाई समस्याका रूपमा पहिचान नै नगरिएको देखिन्छ, समाधान त धेरै परको कुरा भयो । अब विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले औंल्याएका विषयहरू सम्बोधन गर्न ढिलो गर्नु हुँदैन । नेपालमा पानीमा डुबेर हुने मृत्यु रोकथामका लागि एकातिर राष्ट्रिय जल सुरक्षा नीति निर्माण गर्न सरोकारवाला राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायसँग हातेमालो गर्नुपर्नेछ, अर्कातिर यससम्बन्धी यथार्थपरक तथ्यांकहरू पनि निकाल्नुपर्नेछ । पानीमा डुबेर हुने मृत्युका कारकहरू अन्य देशको भन्दा हाम्रोमा फरक हुन सक्छन् । त्यसैले हाम्रै समुदायमा केन्द्रित रहेर अध्ययन हुनु आवश्यक छ । यसबाटै सयौंलाई अकाल मृत्युबाट बचाउन सकिन्छ अनि दिगो विकास लक्ष्य हासिल गर्न पनि सहयोग मिल्नेछ ।

    (सेढाई पद्मकन्या बहुमुखी क्याम्पसकी उप–प्राध्यापक हुन् ईकान्तिपुर)

  • १० श्रावण २०७८, आईतवार १३:१५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु