नेपालगन्ज — कोरोना महामारी फैलिएसँगै सरकारले लकडाउन जारी गर्यो । गाउँमा काम पाउन छोड्यो । ५ कक्षामा पढ्ने कैलालीकी १४ वर्षीया किशोरी पनि यसको मारमा परिन् । उनका बुबा गाउँमै कपडा सिलाउँथे । कोरोनाले काम बन्द भएपछि पाँच जनाको परिवारलाई खान, लाउन समस्या पर्यो । गाउँकै चिनजानकै दिदी नाता पर्नेले भारतमा काम पाइन्छ भनिन् । चार महिनाअघि बुबाआमाको सहमतिमै ती किशोरीलाई दिदीले लगिन् । उत्तर प्रदेशको उन्नाउ सहरको एक मासु कम्पनीमा आठ हजार भारतीय रुपैयाँ मासिक पारिश्रमिक पाउने मौखिक सर्तमा उनले काम गर्न थालिन् । काटेको मासु प्याकिङ गर्ने काम गर्दैगर्दा उनी बिरामी परिन् । थला परेपछि घर र बुबाआमाको सम्झनाले सतायो । तर कम्पनीले छुट्टी दिएन । ‘परिवारमा कमाउने कोही थिएनन्, त्यसैले काम नगरी सुख भएन । काम गर्दागर्दै बिरामी परेर थला परें,’ शान्ति पुनःस्थापना गृह बाँकेले भारतको उन्नाउबाट उद्धार गरेपछि शुक्रबार नेपालगन्ज आइपुगेकी ती किशोरीले भनिन्, ‘बिरामी पर्दा पनि काम गर्नै पर्थ्यो, आराम गर्न पाइँदैनथ्यो ।’ उनी सन्चो भएको जस्तो देखिँदैनथ्यो । ‘दुई दिन काम गरेको पाँच सय भारु पाउँथ्यौं । दिनभरि काम गरेर राति १२ बजे बल्ल सुत्न पाइन्थ्यो,’ उनले भनिन् ।
कैलालीकी ती किशोरीको जस्तै अवस्था बर्दिया राजापुरकी १७ वर्षीयाको पनि छ । उनी गाउँकै विद्यालयमा कक्षा ५ मा पढ्दै थिइन् । कोरोना महामारी बढेसँगै विद्यालय बन्द भयो, पढाइ छुट्यो । उनका बुबाआमाले समेत काम पाएनन् । सबैको भोकै मर्ने अवस्था देखेपछि उनले भारत जाने निर्णय गरिन् र गाउँकै दिदी नाता पर्नेसँग भारत पुगिन् । घरकी एक्ली छोरी, उनी राम्रोसँग नेपाली बोल्नसमेत जाँन्दिनन् । ‘दिनभरि उभिएर मासु प्याकिङ गर्दा घुँडा धेरै दुख्थ्यो,’ उनले भनिन्, ‘सुरुसुरुमा त काम गर्न नसक्दा मालिकको धेरै गाली खानु पर्यो ।’ थकान अझै उनको अनुहारमा देखिन्छ । यसैगरी भारत पुगेकी कैलालीकी १८ वर्षीया अर्की किशोरीको भोगाइ भने फरक छ । कोरोना महामारी सुरु भएसँगै कामविहीन भएर बस्नुपर्दा उनी दिक्क थिइन् । त्यसमाथि बुबाले पनि नराम्रो व्यवहार गर्न थाले । एक दिन बुबाले ‘काम केही छैन, बसी बसी खाएकी छे’ भन्दै हात छोडेपछि उनले भारत जाने निधो गरिन् । उनको ८ जनाको परिवार छ । ‘कमाउने बुबा रक्सीमा रमाउँथे । आमालाई पिट्थे । मलाई नि घरमा बसेर खान्छेस् भनेर गाली गर्नु हुन्थ्यो,’ १८ वर्षीया ती किशोरीले भनिन्, ‘आमालाई घर चलाउन मद्दत होला भनेर घरको सल्लाहले कमाउन गएकी हुँ ।’