ट्युनिस — अफ्रिकी मुलुक ट्युनियसियामा राजनीतिक संकट निम्तिएको छ । राष्ट्रपति कैस सय्यदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्दै संसद् भंग गरेपछि ट्युनिसियामा राजनीतिक संकट निम्तिएको हो । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सरकार असफल भएको भन्दै देशभर प्रदर्शन भइरहेका बेला राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन् । संसद्समेत भंग भएपछि ट्युनिसियामा ‘कु’ भएको आशंका व्यक्त गरिएको छ ।राष्ट्रपति सय्यदले भने देशमा शान्ति सुरक्षा कायम राख्न आफूले कदम चालेको दाबी गरेका छन् । नयाँ प्रधानमन्त्री चयन गरेर देशको अवस्था नियन्त्रणमा आउने उनले बताएका छन् । सुरक्षा अधिकारीहरुको आपत्कालीन बैठक बोलाएर उनले टेलिभिजनमार्फत सम्बोधन गरेका थिए । उनले भने, ‘ट्युनिसियामा सामाजिक शान्ति पुन:स्थापना नभएसम्मका लागि हामीले यो कदम चालेका हौं ।’ देशमा सम्भावित खतरा आउन लागेको अवस्थामा संसद् भंग गर्ने अधिकारी संविधानले दिएको पनि राष्ट्रपतिले दाबी गरेका छन् । तर विपक्षीले भने यसलाई ‘कु’ को संज्ञा दिएका छन् ।
आइतबार प्रधानमन्त्री बर्खास्तीमा परेको खबर सार्वजनिक भएसँगै राजधानी ट्युनिसमा सर्वसाधारणले खुसीयाली मनाएका थिए । राष्ट्रपति पनि सर्वसाधारणको प्रदर्शनमा सहभागी भएको बताइएको छ । त्यसभन्दा पहिले पनि राजधानीसहित मुलुकका विभिन्न सहरमा सत्तारुढ दलविरुद्ध प्रदर्शन भएको थियो । राष्ट्रपतिले हिंसा मच्चिए सेनालाई परिचालन गरेर भए पनि नियन्त्रणमा लिइने बताएका छन् । १० वर्षअघि सन् २०११ मा भएको क्रान्तिले ट्युनिसिया लोकतान्त्रिक बाटोमा हिँडेको थियो । जुन आन्दोलन ‘अरब क्रान्ति’ का नामले समेत चर्चित छ । लोकतान्त्रिक सरकार आएसँग्र बेरोजगारीलगायतका नागरिकका समस्या सम्बोधन हुने आश गरिएको थियो । तर सोचेअनुरुप काम नभएकाले आम नागरिकमा निराशा छाएको थियो ।