अण्डाको मूल्य हालसम्मकै उच्च – Dastabej

अण्डाको मूल्य हालसम्मकै उच्च


  • रासस

  •  चितवन । गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको छ । साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ ।सोमबारदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) रु ३८५ र मिडियम प्रतिक्रेट रु ३५५ कायम गरिएको छ ।नेपाल अण्डा उत्पादक सङ्घले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो । केन्द्रीय अध्यक्ष शिवराम केसीका मागअनुसार अण्डा पुर्‍याउन कठिन भएको छ । हाल दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ ।अन्य समयमा यो सङ्ख्या ४७ लाखसम्म पुग्ने गरेको उनले बताए । निषेधाज्ञाका समयमा अण्डा भाउ प्रतिक्रेट ३३० सम्म झरेको थियो । हाल अण्डाको लागत मूल्य प्रतिक्रेट ३६० हाराहारी पर्ने केसी बताउँछन् ।कोभिडले निषेधाज्ञा भएका समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ ।

    कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ ।गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोवार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको बिक्री शुन्य भएकामा क्रमशःबढ्दै गएर प्रतिवटा रु ७० पुगेको छ ।नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ब्रोइलर चल्लामा ठूलो नोक्सान भएको छ । उनले भने, ‘निषेधाज्ञाका समयमा तीन साता हामीले चल्ला बेच्न सकेनौँ ।’ गएको तीन महिनामा अन्य हप्ता लागत मूल्यका आधारमा बेच्नसमेत मुस्किल परेको उनको भनाइ छ । ब्रोइलर चल्लाको लागत मूल्य प्रतिवटा ५६ रुपैयाँ पर्दछ । एक सातामा देसभरका ह्याचरीले ३० लाख चल्ला उत्पादन गर्ने उनले जानकारी दिए ।

    लेयर्स चल्ला भने पुर्‍याउन मुस्किल परेपछि व्यवसायीले नोक्सान बेहोर्नु परेको छैन । लेयर्स प्रतिवटा ७० मा बिक्री भइरहेको छ । देशभरमा ३४० वटा ह्याचरी दर्ता भएकामा ६० जति बन्द रहेको उनको भनाइ छ । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्षसमेत रहेका पोख्रेल व्यवसायीले कोरोनाका कारण धेरै नोक्सान बेहोर्नु परेको बताउँछन् । राज्यले समयमा ध्यान दिएर पोल्ट्री क्षेत्रलाई हेर्न नसकेमा आत्मनिर्भर यस व्यवसाय भविष्यमा धरासायी बन्दै जानसक्ने उनको चिन्ता छ ।चितवनमा दुई हजार ७०० हाराहारी पोल्ट्री फार्म रहेका छन् । लेयर्स कुखुरामा ८० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाएको उहाँ बताउनुहुन्छ । अण्डाको मूल्य बढे पनि दानाको कच्चापदार्थको दर उच्च हुँदा किसानले सोचे जस्तो मुनाफा नपाएका कृषक बताउँछन् ।पोल्ट्री व्यवसायी मदन पोख्रेल कुखुराको दानामा प्रयोग हुने प्रतिकिलो ५० पर्ने भटमास १०५ सम्म पुगेको र २२ हाराहारीमा पाउने मकै ३७ रुपैयाँसम्म पुगेको बताउँछन् । उनले भने, ‘दानाको मूल्यसँगै अण्डाको मूल्य बढेकाले हामीलाई त्यति नाफा छैन ।’ कोभिडको समयमा लागत मूल्यमा अण्डा बिक्री गर्न कठिन भएको र काममा जोखिम मोल्नुपरेको निवर्तमान अध्यक्ष पोख्रेलको गुनासो छ ।

    महँगोमा चल्ला राख्नुपर्दा लागत मूल्य बढी हुने उनी बताउँछन् । निषेधाज्ञाको समयमा कुखुराको मासुले मूल्य नपाउँदा धेरैले नोक्सानी बेहोर्नु परेको छ । दुई वर्ष अष्ट्रेलियामा अध्ययन गरेर फर्किएका गैँडाकोटका सम्भव पाण्डे निषेधाज्ञामा आफूले पालेका ३२ हजार ब्रोइलर कुखुराबाट २६ लाख रुपैयाँ नोक्सान भएको बताउँछन् ।उनले नवलपरासीको बेल्डीया र गैँडाकोटमा कुखुरा पालेका थिए । त्यतिबेला प्रतिवटा १०० हाराहारीमा खरीद गरेको चल्लाबाट उत्पादन भएपछि बिक्री गर्दा प्रतिकिलो १५० रुपैयाँमा बेच्नुपरेको उनको भनाइ छ ।चितवन–नवलपुर दाना वितरक सङ्घका अध्यक्ष तेजनारायण पाण्डे ब्रोइलर कुखुराको किसानको लागत मूल्य  २२० सम्म पर्ने भए पनि निषेधाज्ञाभर सस्तोमा बेच्नुपर्दा धेरै नोक्सान भएको बताउँछन् । क्रमशः मूल्य बढ्दै गएको उनको भनाइ छ । उनका अनुसार अहिले कुखुराको मासुको मूल्य ३८० रुपैयाँ प्रतिकिलो पुगेको छ । नेपालमा पोल्ट्री क्षेत्रमा एक खर्ब ५० अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् ।लेयर्स कुखुरापालनमा अग्रणी दाउन्ने ट्रेडर्सका कार्यकारी निर्देशक विनोद पोख्रेल कच्चापदार्थको मूल्य दिनानुदिन बढ्दा र कोभिड जस्ता महामारीका समयमा यो व्यवसाय सञ्चालन कठिन हुने बताउँछन् ।

  • ११ श्रावण २०७८, सोमबार १४:५१ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश