उद्यमी बन्दै दलित महिला – Dastabej

उद्यमी बन्दै दलित महिला


  • मधु शाही

  • बाँके — केही वर्षअघि बिरामी परेकी ममता कुलारा औषधि गर्न पैसा नभएपछि ऋण खोज्न गाउँघर डुलिन् । तर, पाँच सय रुपैयाँ ऋण दिन कसैले पत्याएन । आफूसँग पैसा नहुँदा भौंतारिनुपरेको त्यो क्षण ५० वर्षीया ममताको मनमा अझै तिखो भएर गडेको छ ।  गाउँमा उनीजस्तै थुप्रै दलित समुदायका महिला थिए, जो आर्थिक अभाव, गरिबी र विभेदले पीडित थिए । पीडाले सम्भावना खुलाउँछ भनेजस्तै ममताले पाँच सय रुपैयाँ ऋण नपत्याएको झोंकलाई शक्तिमा बदलिन् । प्रगतिशील दलित महिला समूह गठन भयो र गाउँघरका यस्तै वेदना बोकेका दलित समुदायका महिलाले मासिक पैसा जम्मा गर्न थाले । कोहलपुर–२ मा रहेको खाली सरकारी जमिन खन्न थाले । त्यहाँ जडीबुटी र तरकारी खेती लगाउन थाले । आयआर्जनबाट उठेको रकमबाट ५ सय रुपैयाँ मासिक जम्मा गर्न थालियो । ममताले दुई दशकअघि आर्थिक सशक्तीकरण नहुँदाको भोगाइ तितो रहेको सुनाइन् । अहिले उनी सहकारीमा आबद्ध छिन् । उनीजस्तै आर्थिक अभाव झेल्दै आएका यी महिलाले आर्थिक रूपमा सक्षम बन्न सहकारी खोलेका हुन् ।

    कोहलपुरका विभिन्न पाँचवटा दलित महिला समूह मिलेर संघर्ष महिला दलित बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याए । बैजनाथ गाउँपालिका–३ की रीना चदाराले आफ्नो कमाइ नहुँदा चुरा किन्न पनि श्रीमान्को मुख ताक्नुपरेको सुनाइन् । मजदुरी गरेर दैनिक गुजारा चलाउनुपर्ने घरको स्थिति थियो । बिरामी पर्दा दुई–चार सयको अभावले साहुको घरदैलो धाउनुपर्थ्यो । अहिले रीना उल्टै अरूलाई ऋण दिन सक्ने भएकी छन् । कोहलपुरकी ३५ वर्षीया गीता चदारा १५ वर्षदेखि सहकारीमा आबद्ध छन् । सुरुमा जति कमायो उति नै खर्च गर्ने बानी थियो । जब उनी समूहमा आबद्ध भइन्, त्यसपछि एक रुपैयाँको पनि महत्त्व महसुस हुन लागेको उनले सुनाइन् । कोरोनाका कारण लकडाउन हुँदा पनि गीता आत्तिइनन् । उनले बचत गरेको रकमलाई व्यवसायमा लगानी गरिन् । अहिले त्यही व्यवसाय उनका श्रीमान्ले सम्हाल्दै आएका छन् । २० हजार रुपैयाँ कमाउन विदेशिन खोजेका श्रीमान्लाई उनले आफैंले बचत गरेको रकमले सहारा दिएकी हुन् । संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापकीय निर्देशक तुलसी सुनारका अनुसार दुई दशकअघि २५ जनाबाट सुरु गरिएको सहकारीमा अहिले २ हजार २ सयभन्दा बढी सेयर सदस्य छन् । समाजमा जुनसुकै विभेद न्यूनीकरण गर्न आर्थिक पाटोले धेरै भूमिका खेल्ने हुँदा सहकारीमा दलित महिला आबद्ध गर्न जरुरी ठानेको उनले सुनाइन् । दलित सेवा संघले सहकारीको योजना बुन्दै महिलालाई आबद्ध गरेको उनले बताइन् । दलित महिलाले जोडेको तिनै पाँच सय रुपैयाँको लगानी अहिले लाखौं भएको छ । सहकारीले सेनिटरी प्याड उद्योगसमेत सञ्चालन गरेको छ । १८ लाख रुपैयाँ लगानीमा सेनिटरी प्याड उत्पादन उद्योग सुरु गरेका हुन् । सामूहिक खेती गरेर सुरु भएको बचत अभियान अहिले उद्योग सञ्चालन गर्न सक्ने हैसियतमा पुगेको छ । ‘किसानदेखि उद्यमी बन्दै छौं,’ निर्देशक तुलसीले भनिन् । इकान्तिपुरबाट

  • १२ श्रावण २०७८, मंगलवार १७:३९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान