पर्सा — पर्सामा एक महिनायता फैलिएको ज्वरोका कारण ‘इन्फ्लुएन्जा ए’ भएको पुष्टि भएको छ । वीरगन्जका अस्पताल तथा क्लिनिकमा कोरोनासँग मिल्दो लक्षण भएका बिरामीको चाप बढेपछि केन्द्रीय प्रयोगशाला टेकुमा स्वाब परीक्षणका लागि पठाइएको थियो । उक्त परीक्षणबाट ‘इन्फ्लुएन्जा ए’ नै पुष्टि भएको नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डा. उदयनारायण सिंहले बताए । ‘एक साताअघि बिरामी भएका अस्पतालका ५ स्टाफ नर्सको स्वाब परीक्षणका लागि लगिएको थियो,’ उनले भने, ‘आइतबार आएको नतिजाले ५ मध्ये ४ जनामा इन्फ्लुएन्जा ए संक्रमण पाइएको छ ।’
पछिल्ला दिनमा नारायणी अस्पतालमा मात्रै दैनिक ४० देखि ५० जना यस्ता लक्षणका बिरामी आउने गरेको डा। सिंहले बताए । यसबाहेक निजी क्लिनिकमा पनि बिरामीको चाप बढ्दो छ । अधिकांश बिरामीमा ज्वरो १ सयदेखि १ सय ५ डिग्रीसम्म पुग्ने, नाकबाट पानी बग्ने, सुक्खा खोकी र खोक्दा छाती दुख्ने, टाउको दुख्ने, जीउ गल्ने, खान मन नलाग्ने, कहिलेकाहीँ पखाला चल्ने समान लक्षण देखिएका छन् । पारासिटामोलले पनि घण्टौंसम्म ज्वरो कम नहुने गरेको पाइएको डा। सिंहले बताए । ‘संक्रमितमा कोभिड–१९ सँग मिल्दोजुल्दो धेरै लक्षण देखिन्छ,’ डा। सिंहले भने, ‘यस्ता लक्षण भएकाले अविलम्ब पीसीआर परीक्षण गराउनु उपयुक्त हुन्छ ।’ बिरामी भएकै दिनदेखि अधिकांशको नाकबाट पातलो सिंगान बग्ने र सुक्खा खोकी लाग्ने गरेको उनले बताए । उनका अनुसार कोरोना संक्रमणमा प्रायस् ५ देखि ७ दिनपछि खोकी लाग्न सुरु हुन्छ । फ्लुमा थोरैलाई मात्रै सास फेर्न अप्ठ्यारो भएको छ । अक्सिजन स्याचुरेसन सामान्य नै छ । यस्ता बिरामी कतिपय एकै परिवारका पनि छन् ।
अघिल्ला वर्षको तुलनामा यो सिजनमा मौसमी रुघाखोकी र ज्वरोका बिरामी ठूलो संख्यामा आइरहेको डा। सिंहले बताए । ‘५ वर्षयता पहिलो पटक यसरी इन्फ्लुएन्जा ए का बिरामीको संख्या ह्वात्तै बढेको हो,’ उनले भने, ‘बिरामीमा ५ दिनभन्दा बढी निरन्तर लक्षण देखिइरहे वा जटिलता थपिएमा अनिवार्य पीसीआर परीक्षण गराउनैपर्छ ।’ चिकित्सकको सल्लाहअनुसार पारासिटामोल प्रयोग गर्न सकिने र एकदमै कडा ज्वरो आएमा बिरामीको शरीर नरम कपडा पानीमा भिजाएर पुछिदिने वा पानीपट्टी गर्नुपर्ने उनले सुझाव दिए । ‘मनतातो पानीमा कागती मह, फलफूल, प्रशस्त झोल पदार्थ, पोसिलो खानेकुरामा जोड दिनुपर्छ,’ उनले भने, ‘भौतिक दूरीको पालना, मास्कको अनिवार्य प्रयोग र बेलाबेला हात धोइराख्नुपर्छ । अनावश्यक रूपमा पेनकिलर र एन्टिबायोटिक सेवन गर्न हुन्न ।’ ईकान्तिपुर