नेपालगन्ज । बर्दिया गेरुवा गाउँपालिकाकी घर भएकी सरस्वती चौधरी शुक्रबार बिहान ५.५२ वजे टोकियो ओलम्पिक २०२० मा महिला १०० मिटर दौड लगाईरहँदा सिंगो नेपालीले जीतको शुभकामना दिइरहेका थिए । बर्दियाको एउटा गाउँबाट उठेकी चेलीका लागि टोकियो ओलम्पिकमा सहभागि हुनु सपनाझै थियो । स्पर्धामा उनी आफूले बनाएको लक्षय सुधार गर्न नसकेपछि उनको नाम ओलम्पियन खेलाडीमा दर्ज भएको छ । शुक्रबार बिहानबाट उनले ओलम्पियनको ट्याग पाएकी छन् । नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले विश्वव्यापी सहभागिताको कोटामा गोपीचन्द्रको स्थानमा सरस्वतीले ओलम्पिकमा छनौट भएको खबर गर्दा उनी बर्दियास्थित गेरुवा घरमै थिईन । त्यसपछि राजधानी काठमाडौं फर्केर तयारी थालिन् ।
गत वर्ष मंसिरमा सम्पन्न नेपालगन्ज म्याराथन विजेता गोपीचन्द्र पार्कीले ओलम्पिकमा दौडने घोषणा गरेका थिए । तर अन्तिम समयमा नसोचिएको रूपमा उनी टोकियो यात्राबाट वञ्चित भईन । अनि सरस्वतीले ओलम्पियन बन्ने अवसर पाएकी हुन् ।
प्रारम्भिक चरणको ‘हिट्स २’ मा १२.९१ सेकेन्डमा दौड पूरा गरेकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य भेट्टाउन सकिनन् । आफ्नो समूहका नौ खेलाडीमध्ये उनी आठौं स्थानमा रहिन् । उनले दशरथ रंगशालामा दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा १२.५५ सेकेन्डमा लक्ष्य पूरा गरेकी थिइन्जु । उनले दोहामा भएको वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप २०१९ मा १२.७२ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।
२४ वर्षिया सरस्वती आफ्नो नियमित अभ्यासमा थिइन् । ओलम्किपमा नाम सिफारिस भएको दुई दिन अघि मात्रै उनी गृहजिल्ला बर्दिया पुगेकी थिइन् । बिरामी आमालाई भेट्न घर गएका बेला ओलम्पिक खेल्न जानुपर्ने भयो भन्ने थाहा पाएपछि उनी काठमाडौं फर्केकी थिइन् । ‘एकछिन त सपना हो कि जस्तो पनि भयो’, सरस्वतीले पहिलो पटक ओलम्पिक जाने खराब पाएको क्षण सम्झदै भनिन्, ‘पत्याउन पनि गाह्रो पर्यो । त्यसपछि आमाबुवालाई सुनाए । सबै जना खुसी हुनुभयो ।’

सरस्वतीले स्कुले जीवनबाटै दौड सुरु गरेकी थिइन् । गाँउका आफू भन्दा सिनियर दिदीहरु दौडेकी देखेर उनलाई पनि दौडने रहर पलाएको थियो । आरु भन्दा छिटो दौडने देखेरै विद्यालयका शिक्षकहरुले पनि हौसाउने गरेको अहिले पनि उनको दिमागमा ताजै छ । नियमित रुपमा भने उनी २०७० बाट दौडन सुरु गरेकी हुन् । प्रतियोगिता खेल्ने दौरानमै भेट भएका एपिएफका खेलाडीको सल्लाहमा उनी त्यहाँ पुगेकी थिइन् । एपिएफमा उनी दुई वर्ष करारमा बसिन् । २०७४ मा उनी अर्को विभागिय टोली आर्मीमा भर्ती भइन् । ताइवानमा भएको जुनियर च्याम्पियनसिप हुँदै सन् २०१९ मा कतारमा भएको विश्व च्याम्पियनसिप पनि उनले देशका प्रतिनिधित्व गरिन् । सागको पनि १२ औं र स्वदेशमा भएको १३ औं संस्करणमा देशका प्रतिनिधित्व गरिन् । आर्मीमा आबद्ध भएपछि खेल जीवन सहज भएको सरस्वती बताउँछिन् । ‘एपिएफमा हुँदा हुँदै आर्मीमा भर्ती खुलेको थाहा पाए । नाम पनि निस्कियो’, उनले भनिन्, ‘त्यसपछि ढुक्क भएर दौडन पाएकी छु । आर्थिक रुपमा पनि सहज भएको छ ।’ एजेन्सीहरुको सहयोगमा ।