काठमाडौं । पूर्वयुवराज पारश शाहले महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा दुर्व्यवहार गरेका छन्। उनले हेलमेट नलगाइ मोटरसाईकल चलाउँदा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेका थिए । मादक पदार्थसमेत सेवन गरेका शाहले प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेका थिए । प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो ।
तनाव घट्ने स्थिति नदेखेपछि ट्राफिक प्रहरीले सञ्चार सेटमार्फत प्रहरी कन्ट्रोललाई थप मद्दतको टोली मगाएको सुनिन्छ । एक ट्राफिक प्रहरीले सेटमा भनेका छन्, ‘पारस शाह रक्सी खाएर एकदम लफडा गरिरहेको छ, गाडी तुरुन्त पठाउनु त ।’ कतिपय सर्वसाधारणले ‘आम जनता थियो भने प्रहरीले अघि नै गाडीमा हालेर लगिसक्ने बताउँदै’ प्रहरीप्रति पनि आक्रोश व्यक्त गरेका थिए । केहिवेरमा शाहको समर्थकले पनि उनको पक्षमा नारा लगाएको सुनिन्छ । पूर्वयुवराज शाह पटकपटक उछृंखल गतिविधि गरेर चर्चामा आइरहन्छन् ।