नेपालगन्ज । मानव बेचबिखनबिरुद्ध नेपालगन्ज उपमहानगरपालिकाकाले २३ वटै वडासम्म संयन्त्र निर्माण गर्न थालेको छ । मानव बेचबिखन नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन बार्षिक समीक्षा र योजना बैठक आईतबारदेखि नेपालगन्जमा सुरु भएको छ । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले सम्पूर्ण वडा तहसम्म समिति गठन गरेर अघि बढ्ने योजना रहेको जनाए । उनले विगतको कामको समीक्षा गर्दै भावी कार्ययोजना बनाइने जानकारी दिईन । नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले मानव बेचबिखन नियन्त्रणका लागि टोलस्तर सम्म प्रभावकारी संयन्त्र निर्माण गरीअघि बढ्न खोजिएको जानकारी दिईन । नेपालगन्ज उपमहानगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, वडा सचिव तथा मानव बेचबिखन नियन्त्रणको अभियानमा सहभागी संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको छ । सामाजिक विकास समितिका संयोजक वशन्ता जोशीको अध्यक्षतामा भएको कार्यक्रममा माईती नेपालका केशव कोइराला, अधिकारकर्मी कमला पन्त, महिला विकास अधिकृत मञ्जु पाण्डे लगायतले विभिन्न विषयमा सहजिकरण गरेका थिए ।