नेपालगन्ज— महामारीको जोखिममा साहसिलो काम गरेको भन्दै बारबरा फाउन्डेसनले पुरस्कृत गरेपछि भेरी अस्पताल नेपालगन्जका सरसफाई कर्मचारीकारुपमा काम गर्ने १९ वर्षीय कबिता डिसी चर्चामा छिन । उनी कोरोना महामारीको दोस्रो लहरमा भेरीमा काम पाएकी हुन । कोरोनाको महामारी सुरु भएपछि सरसफाई काम संगसंगै थप जिम्मेवारी बढ्यो । शव व्यवस्थापनको जिम्मा कवितालाई दिइयो । ‘मिति र दिन मलाई थाह भएन । तर अस्पताल प्रशासनले त्यो शवलाई प्लास्टिकमा प्याक गर्ने जिम्मा दिएपछि म डरार सुरुमा काँमे । एक छिन सोँचे शव प्याक गर्दा मलाई नि कोरोना सर्छ । त्यसैले यो जागीर छोड्छु भन्ने लाग्यो,’ उनले भनिन्,‘फेरि यो पाएको जागीर छोडेर जाने कहाँ हो ? अनि डराईडराई बाध्यताले शवलाई प्याक गरिदिएँ ।’ उनले गत कात्तिकबाट भेरीमा काम पाएकी हुन ।
बाध्यताले गरेको जागीरले उनलाई बिस्तारै काम गर्न त्यति सहज भएन । कोरोनाको दोस्रो लहरमा भेरी अस्पतालमा एकै दिन डेढ दर्जन बढी संक्रमित हरुको मृत्यु हुन थालेपछि डीसीको व्यस्तता झन बढ्दै गयो । उनले एकै दिन १२ वटा शव प्याक गरेको अझै बिर्सेकी छैनन् । उनको घर खासमा जाजरकोट हो । उनका अनुसार घरमा सानिमा, बुबा र भाइ छन् भने दाइ रोजगारीका लागि भारत पसेका छन् । परिवारको आर्थिक अवस्था निकै कमजोर छ । उनी कक्षा १० सम्म अध्ययन गरेर पढ्न छाडेकी छन् । उनले पढ्न चाहेर पनि अवसर नपाएको गुनासो गरिन । उनको मासिक तलब १२ हजार तोकिएको छ ।संक्रमणको जोखिम र शव व्यवस्थापन गर्नुपर्ने डरले २०–२५ जनाले काम छाडेको उनले सुनाइन् । शनिबार एक लाख रुपैयाँको पुरस्कार ग्रहण गर्न उनी पहिलो पटक प्लेन चढेर काठमाडौं पुगिन । पुरस्कारको २५ प्रतिशत कटाएर उनले ७५ हजार बुझेको बताईन । पुरस्कार पाउँदा खुसी लागेको छ, उनले दस्ताबेजसंग खुसी साटिन । शव व्यवस्थापनसंगै सरसफाईको काम गर्थिन । त्यसबाहेक उपचारका लागि एम्बुलेन्समा ल्याइएका विरामीलाई स्टेचरमा राखेर ईमरजेन्सी कक्षसम्म पुर्याउने गरेकी थिईन ।
बाँकेमा गत बर्ष पहिलो पल्ट गत चैत्र ११ गते नेपालगन्जमा १ जनामा कोरोना देखियो । त्यसको १ महिनापछि बाँके कोरोना संक्रमणको हटस्र्पोट बन्यो । नरैनापुर गाउँपालिकाको क्वारेन्टाईनमा एक जना युवकको उपचार नपाएर कोरोनाबाट पहिलो ज्यान गयो । उनको शव उठाउने कोही भएनन् । संक्रमितको छेउमा जान सबै डराउँथे । कोरोना त्राहीत्राही थियो यहाँको वातावरण । संक्रमण बढ्दै गएपछि कोरोना संक्रमितहरु उपचारका लागि भेरी अस्पतालमा भर्ना हुन थाले । चिकित्सक, स्वास्थ्यकर्मीहरुका लागि नयाँ रोग भएकाले सबै डराउने नै भए । तर पछिल्लो समय भेरी अस्पतालले कोरोना संक्रमितहरुको उपचारमा नमुना काम गरेको छ । भेरी अस्पतालका प्रमुख. डा प्रकास थापा, फिजिसीयन डा. राजन पाण्डे लगायत ७ जना बारबारा फाउण्डेसनबाट पुरस्कृत भएका छन् ।