नेपालगन्ज । लुम्बिनी प्रदेशको सत्तापक्ष नेकपा एमाले र विपक्षी गठबन्धनको चेपुवामा दांगबाट प्रतिनिधित्व गरेकी प्रदेश सांसद बिमला खत्री वली परेकी छन् । सरकार बनाउने र गिराउने अंक गणित सरकार र गठबन्धनबीच खासै विभिन्नता नभएका कारण प्रदेश सांसदलाई दुबै पक्षले तानातान गरिरहेका छन् । संघीय सरकार एमालेबाट गठबन्धनको हातमा परेलगत्तै प्रदेश प्रमुखमा अमिक शेरचन लुम्बिनी प्रदेशमा आएसंगै सत्ताको खेल सुरु भएको छ । गठबन्धनमा रहेका कांग्रेस, माओबादी, जसपा र जनमोर्चाका नेताहरुले बिमलाको हस्ताक्षरसहित ४१ जनाको नामावली बुझाउँदै नयाँ सरकार गठनको प्रक्रिया आवह्न गरेका थिए । तर त्यसको केही समयमै सांसद बिमलाले कानुनी समस्याका कारण आफू एमालेमै रहेको बताएपछि गठबन्धन झस्किएको छ । उसले विमलालाई मुख्यमन्त्री निवासमा (बन्धक) बनाएर नक्कली विज्ञप्ति निकालेको आरोपसमेत लगाएको छ ।
माओवादी केन्द्रले विज्ञप्ति जारी गरी लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली बिज्ञप्ती निकालेको आरोप लगाएको हो । तत्कालीन नेकपाबाट विजयी वलीले फागुन २३ को सर्वोच्चको फैसलापछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन् । प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन् । तर, गठबन्धनले नयाँ सरकार गठनका लागि सांसद बिमलाको नामससहित ४१ जनाको हस्ताक्षर बुझाएपछि उनले आफू नेकपा एमालेमै फर्किएको जनाएकी हुन । उनले सोमबार विज्ञप्ति प्रकाशित गरी एमालेमै फर्किएको जनाएका हुन । उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन् ।दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित उत्तरकुमार ओलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी हुन । उनी नेकपा एमालेमा फर्किएपछि नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ । लुम्बिनी प्रदेशमा ८० सदस्यीय प्रदेशसभा छन् । प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९ जना (सभामुखसमेत), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् । सभामुखले मतदान गर्न नपाउने भएका कारण सत्ता पक्षको ३९ र गठबन्धन पक्षमा ३९ प्रदेश सांसद छन् ।