हिरासतमा दलित युवाको छटपटी – Dastabej

हिरासतमा दलित युवाको छटपटी

अधिकारकर्मी भन्छन्– ‘समाजमा पछाडि पारिएका वर्गले हिरासतमा ज्यान गुमाउनु संयोग मान्न सकिँदैन’


  • दस्तावेज

  • धनुषा — घर अगाडिको सार्वजनिक चापाकलको पानी खाने विषयमा दाजु र भाइबीच झगडा परेको थियो । धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडामा ४० वर्षीय पल्टु रविदास र उनकी पत्नी रेनुले अघनुलाई निर्घात कुटपिट गरे । झगडा परिवारमै सीमित भएन । दाजु बिल्टुले कान्छा भाइमाथि कुटपिट गर्नेमाथि सजाय हुनुपर्ने र उपचार खर्च दिनुपर्ने भन्दै जिल्ला प्रहरीमा जाहेरी दिएपछि पल्टुका श्रीमान् र श्रीमती पक्राउ परे ।  साना छोराछोरी रहेको भन्दै जाहेरवालासहितको सहमतिमा श्रीमती रेनु रविदास छुटिन् तर पल्टु छुटेनन् । उनीविरुद्ध ज्यान मार्ने उद्योग र अंगभंग मुद्दा चल्यो । साउन ११ मा धनुषा जिल्ला अदालतले पल्टुलाई २ लाख धरौटीमा छाड्न आदेश गर्‍यो । श्रीमान्लाई छुटाउन रेनुले गाउँमा ऋण खोजिन्, पाइनन् । दयनीय आर्थिक अवस्थाका उनले धरौटी बुझाउन नसक्ने भएपछि प्रहरीले जिल्ला कारागार सिन्धुली पठाउन अदालतको अनुमति लिइसकेको थियो । पल्टु रविदास गत शुक्रबार जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षकै शौचालयमा आफ्नै गन्जीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिए ।

    मृत फेला पर्नु अघिल्लो दिन रेनुसँगै दुई जना आफन्त पनि हिरासतमा पुगेर पल्टुलाई भेट्दै धरौटीका लागि रकमको जोहो गरिरहेको बताएका थिए । भोलिपल्ट भने उनी झुन्डिएको अवस्थामा फेला परे । प्रहरीको हिरासतमा पल्टु मृत भेटिएपछि मुचुल्काको रोहवरमा राख्न प्रहरीले अधिकारकर्मीलगायतको टोली बोलायो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठायो । रविदास परिवार पल्टुले आत्महत्या गरेको मान्न तयार छैनन् । प्रहरीमाथि कारबाही हुनुपर्ने माग उनीहरूको छ । अधिकारकर्मी पनि हिरासतमा थुनुवाले आत्महत्या गर्नु सुरक्षा निकायको गम्भीर लापरबाहीको आरोप लगाउँछन् ।‘हिरासत कक्ष प्रहरीको प्रत्यक्ष निगरानीमा हुन्छ,’ मानव अधिकारकर्मी राजु पासवानले भने, ‘थुनुवालाई असहज हुन नदिन प्रहरी खटिँदा पनि आत्महत्याको घटना हुनु सुरक्षामा ठूलो कमजोरी हो ।’ हिरासतमा ज्यान गुमाएका घटनाको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने उनले बताए ।

    यसअघि धनुषाकै सबैला र रौतहटमा यस्ता घटना भएका थिए । तीन जना दलित युवाको हिरासतमै मृत्यु भएको घटनालाई ‘शंकास्पद’ भन्दै परिवार र अधिकारीवादीले विरोध जनाएका छन् । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकार भने हिरासतमा मृत्यु हुनेहरूमा दलित हुनु संयोगमात्रै भएको बताउँछन् । ‘थुनाभित्र सबै थुनुवालाई प्रहरीले समान व्यवहार गर्छ,’ उनले भने, ‘हिरासतमा दलित मात्रैको मृत्यु हुनु संयोग हो ।’यसअघि धनुषाको सबैला–१२ बरकुर्बाका २३ वर्षीय शम्भु सदा मुसहर २०७७ जेठ २७ मा इलाका प्रहरी कार्यालय सबैलामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको प्रहरीले बताए पनि दलित समुदायले हत्या भएको भन्दै दोषीमाथि कारबाहीको माग राख्दै प्रदर्शन गरेका थिए ।

    सदाको मृत्युको विरोधमा दलित अधिकारकर्मीहरू आन्दोलित भइरहेकै बेला हत्या आरोपमा पक्राउ परेका रौतहटका विजय महराको मृत्यु भयो । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा कुटपिटबाट घाइते महराको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । गत वर्षको साउन ३१ को राति गरुडा–८ बसबिट्टी जिंगडियाका २० वर्षीय निरन्जन पासवानलाई घाँटी रेटी हत्या गरेको आरोपमा विजय महरासहित ७ जनालाई पक्राउ गरेका थिए । महरालाई प्रहरीले हिरासतमा यातना दिँदा सिकिस्त भएपछि उपचारार्थ वीरगन्ज पुर्‍याएको थियो । महराको मृत्युपछि घटनामा संलग्न प्रहरी अधिकारीहरू विभागीय कारबाहीमा परेका थिए । आर्थिक रूपले विपन्न, समाजमा कमजोर मानिने, कानुनको ज्ञान नभएको, न्यायिक निकायमा पहुँच नहुने वर्गकै युवाले प्रहरीको हिरासतमा ज्यान गुमाउने घटना निरन्तर हुनु संयोग मान्न नसकिने भनाइ अधिकारकर्मीहरूको छ । ईकान्तिपुरबाट

  • १९ श्रावण २०७८, मंगलवार १२:४१ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश