पोषण भत्ता पाउन ढिलाइ भएपछि वडा सचिवसँग वादविवाद गरिरहेको अवस्थामा वडाअध्यक्षले सर्पेलाई लतार्दै वडा कार्यालय नजिकै रहेको गब्बले घरमा लिई डोरीले बाँधेर कुटपिट गरी बन्दक बनाएको स्थानीय जय नाथले बताए । वडा अध्यक्षले सर्पेलाई गत साउन १५ गते बाँधेर कुटपिट गरेका हुन् । वडाध्यक्ष नेपालीले सर्पेलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सर्वत्र विरोध भएको छ ।वडाअध्यक्ष नेपालीद्वारा डोरीले बाँधेर बन्दक बनाइएका सर्पेलाई ३/४ घण्टापछि इलाका प्रहरी कार्यालय पञ्चालाको प्रहरी टोलीले उद्धार गरेको नाथले बताए । सर्पेलाई बाँधेर कुटपिट गरेपछि वडाअध्यक्ष नेपालीले वडा कार्यालयमा असुरक्षा भयो भन्दै प्रहरीलाई खबर गरेको उनले बताए ।सरकारी सेवा पाउन वडा कार्यालयमा पुगेका सेवाग्राहीलाई वडाअध्यक्ष जस्तो व्यक्तिले पदको दुरुपयोग गरी मानिसलाई बाँधेर कुटपिट गर्नु गलत भएको पीडितका बाबु रंगे नेपालीले बताए । ‘जनप्रतिनिधिले बाँधेर कुटपिट गर्ने तथा बन्धक बनाउने उल्टै पीडितलाई आगामी दिन गल्ती गर्ने छैन भनी प्रहरीमा कागज गराउनु जस्तो अपराध अरु के हुन सक्छ,’ नेपालीले भने । विकास र समृद्धिका आशामा भोट हालेर निर्विचित बनाएका जनप्रतिनिधिबाटै कुटाइ खानु परेको उनले बताए । छोरालाई बाँधेर कुटपिट नगर्न बारम्बार आग्रह गर्दा पनि वडाअध्यक्ष नेपालीले नमानेर लगातार कुटपिट गरेको उनले बताए ।
अध्यक्ष नेपालीले कुटपिटको विरुद्धमा पीडितलाई प्रहरी समक्ष पुग्न नदिई दबाब दिँदै आएका छन् । मदिरा सेवन गरेर वडा कार्यालयमा जथाभावी बोल्नुको साथै होहल्ला गरेपछि सर्पेलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाइ मात्र गरेको वडा अध्यक्ष नेपालीले बताए । अध्यक्ष नेपाली २०७४ मा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । ईकान्तिपुरबाट ।