नेपालगन्ज— बाँकेको खजुराकी जुडोेकी ओलम्पियन सोनिया भट्ट लाई नेपालगन्जमा भब्य स्वागत गरिएको छ । टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाएर उनी गृह जिल्लामा बुधबार आई पुगेकी हुन । उनको स्वागतका लागि गृह गाउँपालिका खजुराका प्रमुख किस्मतकुमार कक्षपति, उनी अध्ययनरत बिद्यालयका शिक्षक, खेलप्रेमीहरु नेपालगन्ज बिमानस्थल राँझा पुगेका थिए । बुधबार नै खेलकुद विकास समितिले ओलम्पियन सोनियाको बधाई तथा स्वागत कार्यक्रमको आयोजना गर्यो । सोनिया रुसकी इरिना डोल्गोभाबाट पहिलो चरणमै पराजित भएकी थिईन । उनी पराजित भए पनि ओलम्पियनमा नाम दर्ज गराउन सफल भएकी छन् । निप्पोन बुदोकानमा गएको शनिबार बिहानै भएको जुडोको प्रतिस्पर्धामा १९ वर्षीया सोनियाले पहिलो बाउट जित्ने लक्ष्य बनाएकी थिइन् । तर, उनको चुनौती रुसकी इरिना डोल्गोभाले १ मिनेट १६ सेकेन्डमै समाप्त पारिदिइन् । ग्रान्डस्लाम र युरोपियन च्याम्पियनसिपलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा १७ पदक जितेकी इरिनाविरुद्ध सोनियाको केही सीप चलेन र नकआउट नै हुनुपऱ्यो ।