काठमाडौँ — सरकारले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति गरेपछि १५ हजार स्थायी शिक्षक पदपूर्ति, बढुवा र स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको बाटो खुलेको छ । पदाधिकारी सिफारिस भएको सात महिनापछि सरकारले मंगलबार आयोगमा अध्यक्षसहित दुई सदस्यलाई नियुक्त गरेको हो । आर्थिक वर्ष २०७४।७५ देखि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन भएको थिएन । करिब सात लाखले अध्यापन अनुमतिपत्र लिएर बसेका छन् । १२ हजार ६ सय स्थायी शिक्षकको दरबन्दी अहिले नै रिक्त छ । २०७८ चैतसम्म थप तीन हजार शिक्षक नियमित अवकाशमा जाने र दरबन्दी रिक्त हुने अनुमान गरिएको छ ।