जाजरकोट । एक युवकलाई डोरीले बाँधेर कुटपिट गर्ने भिडियो र फोटो सामाजिक सन्जलमा भाइरल बनेपछि दबावमा परेको जाजरकोट प्रहरीले घटनामा संलग्न वडाध्यक्षलाई पक्राउ गरेको छ । जुनीचाँदे गाउँपालिका वडा नम्बर २जकोटका १८ वर्षीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गर्ने वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले बिहीबार पक्राउ गरेको जनाएको छ । प्रहरी चौकी पञ्चालाको प्रहरी टोलीले वडाध्यक्ष नेपालीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पठाएको छ । घटनास्थल सदरमुकाम खलंगादेखि करिब ८० किलोमिटर टाढा भएकोले वडाध्यक्ष नेपालीलाई जिल्ला प्रहरी कार्यालयमा पुर्याउने समय लाग्ने प्रहरीले जनाएको छ । वडाध्यक्ष नेपालीले पोषणभत्ता माग्न गएका सर्पेलाई डोरीले बाँधेर कुटपिट गर्नुका साथै ३ घण्टासम्म बन्धक बनाएको आरोेप छ ।