यही साउन २० गतदेखि शुरु भएको कक्षा ११ को परीक्षामा निर्धक्कका साथ परीक्षामा सामेल भएका यामले खुट्टाकै लेखाइले नै माध्यमिक शिक्षा (एसइई) परीक्षा उत्र्तीण गरी अहिले शिक्षा शास्त्र सङ्कायमा नेपाली विषय लिएर कक्षा ११ को परीक्षा दिइरहेका हुन् ।शारीरिक रुपमा अशक्त रहे पनि स्मरण शक्ति राम्रो रहेका उनी जिज्ञासु हुनाका साथै केही नयाँ कुरा सुन्ने र देख्ने बित्तिकै इसारा गरेरै त्यसबारे जानकारी लिन खोज्छन् । २४ वर्ष लागेका यामको दुवै हात चलाउन नसक्ने र बोल्न पनि नसक्ने समस्या जन्मजात नै हो । फरक क्षमता भए पनि पढ्ने क्षमता भने अरु विद्यार्थीभन्दा बढी भएकैले खुट्टाले लेखेरै ठूलो मान्छे बन्ने सपना उसमा छ ।कक्षाकोठामा शिक्षकले पढाउँदा एकै याम पटकमा सहजै बुझ्ने गर्छन्, नबुझेका केही कुरामा शिक्षकलाई इसारा गरेर बोलाउने वा खुट्टाले कापीमा लेखेर देखाउने गर्छन् भने बुझिसकेपछि हाँसेर प्रतिक्रिया दिने गरेको बालज्योति प्राविका प्रधानाध्यापक रोशन सिं सारु बताउँछन् । ‘विद्यालय बिदाको समयमा घरमा बसेर पढ्दै गर्दा केही कुरा नबुझेमा मेरो कोठामै आएर सोध्ने र नयाँ कुरा सिक्न खोज्ने उनको स्वभाव छ’ उनले भने ।विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा आफूले तयार पारेको कविता, गजल र कथा शिक्षकलाई वाचन गर्न लगाउने र फुर्सदको समयमा घरमा बसेर ल्यापटपमा विभिन्न रचना गर्ने र गाउँका समाचार बनाउने कार्यमा याम व्यस्त देखिन्छन् ।
गर्भावस्थामै जण्डिस (कमलपत्ति) रोगले ग्रस्त उनले औषधोपचारको अभावमा जीवनभर अर्काको साहारामा बाँच्नु परेको छ । दुवै हात चलाउन नमिले पनि फुर्सदको समयमा उसले खुट्टाले चम्चा च्यापेर खाना खाने गरेको आमा योगमाया बताउँछिन् । उनले भनिन् ‘याम विद्यालयबाट घर फर्केपछि घरमै बसेर लेखपढ गर्ने, बाहिर साथीभाइसँग खेल्न पनि नजाने, परिवारसँगै साथमा बस्न पाउँदा धेरै रमाउने गर्छ । आफूले गर्न सक्ने र मिल्ने जति काम अरुलाई गर्न नदिने यो उसको सानैदेखिको बानी हो ।’
तीन छोरा र एक छोरीमध्ये माइलो यामको शारीरिक अवस्थाले शुरुमा मानबहादुर चित अहिले उसको पढाइप्रतिको मेहनत, लगनशीलता र सिर्जना देखेर खुशी छन् ।जन्मदै शारीरिकरूपमा कमजोर याम आठ वर्षको उमेरपछि बिस्तारै हिँडडुल गर्नसक्ने भएका थिए । गृहकार्य सकिएपछि घरमै ल्यापटपमा कथा, कविता लेख्ने, इन्टरनेट चलाउने, सामाजिक सञ्जालमा आफ्ना लेख रचना र तस्बिर, पठाउने, सन्देश पठाएर कुराकानी गर्ने युट्युब हेर्ने, फेसबुक चलाउने, म्यासेन्जरमा सञ्चो बिसन्चो लेखेर कुरा गर्ने, रेडियो सुन्ने र नयाँ व्यक्तिसँग परिचित हुन मन पराउने काम गर्दै आएको यामका दाजु पुनारामले बताउँछन् । फरक क्षमताका यामको कार्य देख्ने जो कोहीलाई पनि साहित्यकार झमक घिमिरेको झ–झल्को आउँछ । उनले खुट्टाले लेखपढ गरेर भविष्यमा झमक घिमिरे झै ठूलो मान्छे बन्ने सपना साँचेका छन् । रासस ।