नेपालगन्ज । कोरोना भाइरस महामारीको दोस्रो लहरमा संंक्रमित विरामीहरुले अस्पतालमा बेड र अक्सिजन नपाएर ज्यान गुमाउन थालेपछि सरकारले भेरी अस्पताल नेपालगन्जलाई आवश्यक पर्ने स्वास्थ्य समाग्री खदिका लागि १५ करोड बजेट पठायो । उक्त अस्पतालमा छुट्टै १४२ बेडको कारोना वार्ड बनाइएको थियो । १४२ बेडको वार्डमा ३ सय वीरामी राखिएका थिए । अस्पतालमा विरामी राख्न स्थान अभाव भएपछि अस्पतालको चौरमा टेन्ट बनाएर संक्रमितहरुलाई राखिएको थियो । कोरोना संक्रमितहरुको बढ्दो चाँपसंगै दैनिक डेढ दर्जनले ज्यान गुमाउन थालेपछि सरकारले भेरीलाई १५ करोड बजेट पठाइएको हो । उक्त बजेटले २० वटा आधुनिक अक्सिजनसहितको आईसीयु कक्ष, १० वटा भेन्टीलेटर र अस्पताल परिसरमै अक्सिजन प्लान्ट निमार्ण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । निर्देशन बमोजिम अस्पताल प्रशासनले भेरीमा २० बटा आइसुलेसन कक्ष र १० वटा भेन्टीलेटर बनाइसकेको छ । तर अक्सिजन प्लान्ट निमार्णको प्रक्रिया ढिलो गरी सुरु भएको अस्पताल प्रशासनले स्वीकारेको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकास थापाले भेन्टीलेटर र आइसीयुको काम सकिएको तर अक्सिजन प्लान्ट निमार्णको प्रक्रिया अघि बढेको बताएका छन् ।
उनले अक्सिजन प्लान्ट निमार्णका लागि टेन्डर खोल्दा कानुनी प्रक्रियाका कारण केही ढिलाई भएको जनाए । ‘टेन्डर भएर पनि सम्झौता भइसकेको छ । टेन्डर पाउने कम्पनीले दुई महिना भित्रै अक्सिजन प्लान्ट निमार्ण गर्नुपर्ने सम्झौतामा छ,’ डा. थापा भन्छन्,‘सम्झौता भएको करिव दुई हप्ता भइसकेको छ । डेढ महिनामा अस्पतालमा अक्सिजन प्लान्ट बनिसक्छ ।’ अक्सिजन प्लान्ट निमार्णको टेन्डर मेडीटेक कम्पनीले पाएको छ । कोरोनाको दोस्रो लहरमा बाँकेमा अक्सिजनको हाहाकार मच्चिएको थियो । अस्पतालमा अक्सिजन नहुँदा विरामी आफैले किन्नु पर्ने बाध्यता थियो । यस क्षेत्रकै ठूलो भेरी अस्पतालमा स्वास्थ्य अवस्था जटिल बनेका कोरोना संक्रमितहरुलाई कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका अस्पतालबाट रिफर गरेर पठाउने गरिएको छ । जसका कारण विरामीको चाँप बढी हुने र मृत्युको संख्या बढी देखिने गरेको हो ।
शुक्रबारसम्म बाँकेमा ७०३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । ति मध्ये बाँकेका ३२२ र बाहिर जिल्लाका ३८१छन् । ३७९ जना सक्रिय संक्रमित छन् । हालसम्म १७ हजार ६ सय ७० जना संक्रमित भइसकेका छन् भने १७ हजार २ सय ६० जनाले कोरोना जितिसकेका छन् ।