नेपालगन्ज । नेपालगन्जको विभिन्न स्थानमा फालिएको फोेहोर खोज्दै हिड्ने पाँच जना फुच्चेहरुको समूह छ । उमेर १२। १३ वर्ष समूहका छन् । त्यो समूह नेपालगन्ज १२ मा देखियो । एउटा फुच्चे रिक्सा चलाइरहेको छ ।
बाँकी ४ फुच्चेहरु फोहोरको डुँगुरमा प्लास्टिक खोजिरहेका छन् । प्लास्टिक एक किलो खोज्न सक्यो भने ५ रुपैयाँ पाउँछन् । दुई जना खजुरा गाउँपालिका रनीयापुरका हुन । तीन जना नेपालगन्ज क्षेत्रमा पर्ने ढोढेपुरका हुन । नाम सोध्दा तुमका कहे चाही भन्दै पन्छिन्छन् ।
कै कक्षा तक पढे हौ ? नाई पढी थै, उनीहरुको सामूहिकरुपमा एउटै जवाफ छ । पढ्न पाएको भए के बन्थयो ? जवाफ भने धेरै मार्मिक छ । उनीहरुको पढाई रहर सुन्दा जोकोही भावुक बन्छन् । एउटाले भन्यो, हम डाक्टर बनित । अर्कोको जवाफ थियो, हम मास्टर बनित । अर्को फुच्चेले थप्यो, हैट हम तो पढके चिलगारी उडायवाला डईभरवा बनित । तर ति फूल झै बालकहरुको सपना भने फोहोरको डुँगुरमा गुज्रिरहेको छ।