एक महिनामा ३ राउटेको मृत्यु, दुई वर्षयता १५६ बाट १४२ संख्यामा झरेको छ - Dastabej

एक महिनामा ३ राउटेको मृत्यु, दुई वर्षयता १५६ बाट १४२ संख्यामा झरेको छ


  • दस्तावेज

  • सुर्खेत — जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा मृत्युदर बढ्दै गएको छ । एक महिनाको अवधिमा ३ राउटेले अकालमै ज्यान गुमाएका छन् । २ वर्षीया मयो शाही, ३४ वर्षीय दलबहादुर शाही र २१ वर्षीय मानसिंह शाहीको एक हप्ताको फरकमा ज्यान गएको हो । राउटे समुदायमा अत्यधिक मदिरा प्रयोगका कारण मृत्युदर बढ्दै गएको आशंका गरिएको छ । स्थानीयका अनुसार असार ९ गते प्रतिव्यक्ति २६ हजार रुपैयाँ भत्ता बुझेका अधिकांश राउटेले मदिरामा रकम सकेका छन् । असारयता १४ जना राउटेले ज्यान गुमाइसकेका छन् । अहिले राउटे समुदाय सल्यानको कालीमाटी गाउँपालिकामा पुगेका छन् । राउटे समुदाय साउन महिनामा हत्तपत्त बसाइ सर्दैनन् । तर साउनमै ३ जनाको ज्यान गएपछि उनीहरुले सुर्खेत हुँदै सल्यान बसाइँ सरेका हुन् ।

    राउटेको निम्ति मदिरा सबैभन्दा ठूलो कुलत बनेको सल्यानको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए । तीन वर्षयता राउटे समुदायमा सहजर्ताको रुपमा काम गर्दै आएकी दुर्गा खत्रीले समुदायमा अत्यधिक मदिरा सेवन बढेको बताइन् । ‘यसरी अकालमा ज्यान जाने हो भने लोपोन्मुख राउटे समुदायको अस्तित्व संकटमा पर्ने देखिन्छ,’ उनले भनिन्, ‘अहिले उनीहरुको जीवनशैली आधुनिक समाजबाट प्रभावित भएको छ ।’ राउटे समुदायका बालबालिका आमाहरुले अत्यधिक मात्रामा मदिरा सेवन गर्दा कुपोषित बन्दै गएको उनको भनाइ छ ।‘उनीहरुमा अहिले पैसाको मोह बढेको छ,’ स्थानीय अमर केसीले भने, ‘भत्ताको रकम अधिकांस राउटेले मदिरा खाएरै सिध्याउन थालेका छन् ।’ राउटे समुदायमा घुम्ती सिकाइ, व्यवहार परिवर्तन र अनौपचारिक शिक्षा पद्धतिको विकास गर्न स्थानीय सरकार र विभिन्न संघसस्थाले लगानी गरेका छन् । केसीका अनुसार अनाजबाट बनेको जाँड खानु राउटेको मौलिक विशेषता भए पनि बजारका मदिरामा उनीहरुको मोह बढेको छ । सामाजिक विकास सेवा केन्द्र सोसेक नेपालले राउटेहरुको नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी नै खटाएको छ । अहेब विनोद बिसीले उनीहरुको मृत्युको कारण मदिरा भएको दाबी गरे । शरीरमा खाने कुरा भन्दा पनि मदिरा धेरै भएका कारण फुलिने, सुनिने जस्ता रोग उनीहरुमा देखा परेको छ ।

    पछिल्लो समय प्रौढ र युवा अस्थाका राउटेले मदिराका कारण ज्यान गुमाएका छन् भने बालबालिकाको कुपोषणका कारण मृत्यु भइरहेको छ । युवाहरुले आफूले भनेको कुरा मान्नै छाडेको महामुखिया मैनबहादुर शाहीले बताए । ‘९/१० वर्षको उमेरका बच्चालाई पनि मदिरा खाने बानी लागेको छ,’ उनले भने, ‘मदिराकै कारण धेरैले अकालमै ज्यान गुमाए ।’ दुई वर्षअघि १ सय ५६ जनाको संख्यामा रहेका राउटे समुदायको संख्या अहिले १ सय ४२ जनामा खुम्चिएको छ । राउटे समुदायमा सहकर्ता भएर काम गरेर लालबहादुर खत्री भन्छन्, ‘पहिले सबै आफ्नो काममा व्यस्त हुन्थे, उनीहरुको संस्कृति पनि बचेको थियो, अहिले सबै जना बिहानदेखि साँझसम्मै मदिरामा लिप्त हुन्छन् ।’ अहिले राउटेहरुले काठको काम पनि गर्न छाडेको उनले बताए । यो वर्ष संघीय र प्रदेश सरकारबाट प्राप्त झण्डै ७० लाख रुपैयाँ राउटेलाई भत्ताबापत वितरण गरिएको गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए । ईकान्तिपुरबाट

  • २४ श्रावण २०७८, आईतवार १४:४४ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न