गृहनगर बाँकेमा ओलम्पियन सोनिया भट्टको व्यस्तता – Dastabej

गृहनगर बाँकेमा ओलम्पियन सोनिया भट्टको व्यस्तता

सोनियाको अठोट, ‘अब वाइल्ड कार्डमार्फत होइन, प्रतिस्पर्धा गरेरै छनोट हुन्छु’


  • रूपा गहतराज

  • नेपालगन्ज — सोनिया भट्ट टोकियो जानुअघि जुडो खेलाडीमात्र थिइन् । फर्कंदा उनको परिचय फेरिएको छ । ओलम्पियन जुडो खेलाडी भएकी छन् । सोनियालाई अहिले स्वागत अनि सम्मान थाप्न भ्याइनभ्याइ छ । बाँकेको खजुरा निवासी सोनियालाई भेट्न घर पुग्दा बधाई दिनेको फोन रिसिभ गर्नमै उनी व्यस्त थिइन् । टोकियो ओलम्पिकमा सहभागिता जनाएर उनी बुधबार गृहजिल्ला फर्किएकी हुन् । सोनियालाई स्वागत गर्न खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति विमानस्थल पुगेका थिए । लुम्बिनी प्रदेशका खेलकुद परिषद्का सदस्य–सचिव भीम वली, टीएस ठकुरीलगायत खेल सम्बद्ध व्यक्तिले सोनियालाई विमानस्थल र नेपालगन्जमा कार्यक्रम गरेर स्वागत गरे । सोही दिन जिल्ला खेलकुद विकास समितिले ओलम्पियन सोनियाको सम्मान बधाई तथा स्वागत कार्यक्रमको गर्‍यो ।

    गाउँपालिका अध्यक्ष नै विमानस्थलमा पुगेर स्वागत गर्दा आफूलाई अझ बढी जिम्मेवारीबोध भएको सोनियाले बताइन् । ‘सबैले मलाई ठूलो सम्मान गर्नुभयो । यो सम्मानले जिम्मेवारी बढाएको छ,’ उनले भनिन्, ‘मलाई अब आउने ओलम्पिकमा छनोट भएर जानुपर्छ भन्ने थप हौसला मिलेको छ ।’ टोकियो ओलम्पिकमा सोनिया युरोपियन च्याम्पियन रुसकी इरिना डोल्गोभाबाट पहिलो चरणमै पराजित भएकी थिइन् । १९ वर्षीया सोनियाले पहिलो बाउट जित्ने लक्ष्य लिएकी थिइन् । तर, उनको चुनौती डोल्गोभाले १ मिनेट १६ सेकेन्डमै समाप्त पारिदिइन् । थुप्रै प्रतियोगिता जितेकी डोल्गोभाविरुद्ध सोनियाको ठूलो परीक्षा थियो । उनी मानसिक रूपमा तयारीसाथ उत्रिइन् । तर, १७ अन्तर्राष्ट्रिय पदक जितेकी अनुभवी डोल्गोभासँग सोनियाको केही सीप चलेन र नकआउट नै भइन् । ‘म्याटमा उत्रिँदा म प्रतिस्पर्धीसँग डराएकी थिइनँ,’ उनले भनिन्, ‘नेवाजामा जानु मेरो गल्ती भयो । इरिनाको नेवाजा (ग्राउन्ड टेक्निक) राम्रो थियो ।’

    साउन १ गते ओलम्पिक खेल्न जाने निधो भएपछि सोनियामा खुसीको सीमा थिएन । यो खुसी कसलाई भनौं, कसलाई सुनाउनुभयो । उनले देवु गुरु (थापा) लाई फोन गरेर खुसी साटिन् । दोस्रो कल घरमा आमालाई गरिन् । आफू जापानको टोकियोमा हुने ओलम्पिकमा खेल्न जान पाउने कुराको बेलीविस्तार लगाइन् । सोनियाले ओलम्पिक खेल्न जान पाउँछु भन्ने सोचेकी पनि थिइनन् । वाइल्ड कार्डमार्फत खेल्न जान पाउने भएपछि उनी औधी खुसी भइन् । ‘ओलम्पिकमा जान पाउने जानकारी पाएपछि सुरुमा मलाई के गरुँ, कसलाई भनौं भयो,’ सोनियाले स्मरण गरिन्, ‘पछि थाहा पाएपछि त धेरैले मलाई फोन गरेर बधाईको आइरो नै लगाए ।’

    खेलाडी जीवनमा ओलम्पिक यात्रा साह्रै महत्त्वपूर्ण हुने उनले सुनाइन् । सोनिया जुडोबाट ओलम्पिक खेल्ने कान्छी खेलाडी हुन् । अहिलेसम्म नेपालबाट जुडोमा ५ जनाले ओलम्पिक खेलेका छन् । प्रतियोगिता हुनु एक/दुई महिनाअघि मात्रै नेपालमा बन्द प्रशिक्षणमा राख्ने गरिन्छ । ‘प्रतियोगिताभन्दा केही महिनाअघि मात्रै बन्द प्रशिक्षणमा राखेर खास केही हुँदो रहेनछ,’ सोनियाले भनिन्, ‘राष्ट्रिय खेलाडीलाई त सधैं बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गराउन जरुरी छ ।’ सोनियाले अन्तर्राष्ट्रिय प्रतियोगितामा यसअघि राम्रो प्रदर्शन गरेकी थिइन् । सन् २०१८ मा बंगलादेशमा भएको बीकेएसपी च्याम्पियनसिपमा सोनिया दोस्रो भइन् । सोही वर्ष उनले अर्जेन्टिनामा युथ ओलम्पिक अनि हङकङमा एसियन च्याम्पियनसिप खेलिन् । २०१९ मा मोरक्को र लेबनानमा प्रतिस्पर्धा गरिन् ।सोनियाको स्वदेशमा राम्रो प्रदर्शन रहँदै आएको छ । उनी सातौं र आठौं राष्ट्रिय प्रतियोगिताको स्वर्ण विजेता हुन् । उनको नाममा १३ औं सागको कांस्य पदक पनि छ । बाँकेबाट ओलम्पिक खेल्ने सोनिया चौथो खेलाडी हुन् । यसअघि भारोत्तोलनका सुरेन्द्र हमाल, सुटिङका पार्वती थापा र अनिता श्रेष्ठले ओलम्पिक खेलिसकेका छन् ।

    सोनियाले १९ वर्षमै ओलम्पिक यात्रा गरिन् । ‘सानो उमेरमै ठूलो प्रतियोगिताको अनुभव सँगाल्न पाएकी छन्,’ सोनियाका गुरु सुमन सिंह बस्नेतले भने, ‘सोनियाले आगामी दिनमा अझ कडा मिहिनेत गर्नु जरुरी छ ।’ सोनियाले ९ वर्षकै उमेरदेखि नै जुडो खेल्न सुरु गरेकी थिइन् । घर नजिकैको ज्ञानोदय स्कुलमा आएर उनले जुडो खेल्थिन् । सोनियालाई यहाँसम्म पुर्‍याउनमा जुडोका प्रशिक्षक विजय गुरुङ र दलबहादुर गुरुङको ठूलो योगदान रहेको सोनियाले सम्झिइन् । ‘अब अर्को ओलम्पिकको तयारीमा लाग्छु,’ ओलम्पिक यात्राको अनुभव सुनाउँदै सोनियाले अठोट गरिन्, ‘अब वाइल्ड कार्डमार्फत होइन, प्रतिस्पर्धा गरेरै छनोट हुन्छु । टेक्निकमा हामी केही कमजोर छौं । त्यसलाई सुधार्न सकियो भने छनोट सक्छौं ।’ ईकान्तिपुर ।

  • २६ श्रावण २०७८, मंगलवार ११:०९ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ