काठमाडौं । लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरूद्ध सोमबार सर्वोच्च अदालतमा दायर रिट मंगलबार हेर्न नभ्याएकोमा परेपछि बुधबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ । बुधबार उक्त रिट आठौं नम्बरमा पेशीमा परेको छ । यता मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ३४ प्रदेश सांसदले दतौ गरेको अविश्वास प्रस्तावमा दिउँसो एक बजे विशेष अधिवेशनको बैठक बोलाइएको छ ।अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले सर्वोच्च अदालतको आदेशपछि
कसरी अगाडि बढ्नेतय गर्ने छन् । सरकारका प्रवक्ता बैजनाथ चौधरीले अदालतको निर्णय पर्खिने बताए । एमाले सांसद लिला गिरीले मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन । प्रमुख सचेतक भूमिश्वर ढकालले आज दिउँसो १ बजे बस्ने विशेष अधिवेशनमा भाग लिने कि नलिने भन्ने थप छलफल गरेर निर्णय गरिने ढकालले बताए ।
८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन् ।विपक्षी गठबन्धनका ३४ प्रदेशसभा सदस्यले सरकारविरुद्ध साउन १९ गते तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन माग गरेका हुन् ।