बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार निर्माणका लागि तोकिएको बिहिबार दिउँसो३ बजेसम्मको समयसीमामा सत्ता पक्षको दाबी नपरेपछि माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा (एमाले) अलपतमा परेपछि मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजनीनामा दिएका थिए । कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको तर्फबाट मुख्यमन्त्रीका रुपमा ४२ जना प्रदेश सांसदको हस्ताक्षरसहित केसीको नाम पठाएका थिए । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
तत्कालीन माओवादीले सशस्त्र विद्रोह सन्चालन गर्दा केसी जनमुक्ति सेनाका डिभिजन कमिसार थिए । कमिसार हुँदै कुलप्रसाद केसी बिहिबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । उनले नेकपा (मसाल) को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा, लिवाङका केसी २०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए । २०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।
बिहिबार ६ सदस्य मन्त्रीपरिषद बन्दै
स्रोतका अनुसार कांग्रेसले दाङको निर्वाचन क्षेत्र नं ३(क) बाट निर्वाचित डिल्ली चौधरीलाई पठाउने भएको छ । माओवादीबाट प्यूठानको क्षेत्र नं १ (ख) बाट निर्वाचित कृष्णध्वज खड्कालाई पठाउने निर्णय गरेको छ । ३ प्रदेशसभा सदस्य रहेको जसपाबाट संसदीय दलका नेता सहसराम यादव भौतिक पूर्वाधार विकासमन्त्री र सुमन शर्मा रायमाझी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बन्नेछन् । जसपाकै पुर्मती ढेंगाको मन्त्रालय टुंगो लाग्न बाँकी छ । आज मन्त्रालय टुंगो नलागे ढेंगा बिनाविभागीय मन्त्री बन्ने र पछि अन्य मन्त्रीसँगै मन्त्रालयको टुंगो लगाउने कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए । फोटोः अनलाईन खबर ।