राष्ट्रपतिमाथि बढ्दो दबाव
सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाव बढ्दो छ। यसैबीच, संयुक्त राज्य अमेरिकाले तनावग्रस्त अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका निम्ति पाँच हजार फौज पठाउन लागेको जनाएको छ। अफगानिस्तानबाट आफ्ना फौज फिर्ता बोलाएकोमा चर्को आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले कुनै देश द्वन्द्वको मध्यमा रहेका बेला त्यहाँ अन्तहीन अमेरिकी उपस्थितिलाई आफूले सही साबित गर्न नसक्ने बताएका छन्।
एउटा लिखित वक्तव्यमा उनले भनेका छन्ः यदि अफगान सैनिकले आफ्नो देशलाई नियन्त्रणमा राख्न सक्दैन्थ्यो वा राख्दैन्थ्यो भने अर्को पाँच वर्षसम्म पनि अमेरिकी फौज त्यहाँ रहेर कुनै फरक पर्दैनथ्यो। आफ्ना पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पले सेना फिर्तीका लागि तोकेको म्याद र फौजको सङ्ख्या घटाएर नगन्य बनाउने निर्णय आफूमाथि आइपरेको बाइडनले उल्लेख गरेका छन्।

तस्बिर स्रोत,ARG FACEBOOK PAGEतस्बिरको क्याप्शन,राजीनामा घोषणा गर्ने अनुमानबीच राष्ट्रपति अशरफ गनीले शनिवार सम्बोधन गरेका थिए
जलालाबादमा के भयो?
तालिबान लडाकुहरूले एउटा पनि गोली नचलाई जलालाबादलाई आइतवार बिहान नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ। “जलालाबादमा अहिले कुनै भिडन्त भइरहेको छैन किनकि यहाँका गर्भनरले तालिबानसमक्ष आत्मसमर्पण गरेका छन्,” त्यहाँस्थित एक अफगान अधिकारीले समाचारसंस्था रोएटर्सलाई भने।”तालिबानलाई अगाडि बढ्न दिनका लागि मार्ग प्रशस्त गर्नु नै नागरिकको ज्यान बचाउने एक मात्र बाटो थियो।” जलालाबादमाथि तालिबानले कब्जा गर्नु भनेको छिमेकी मुलुक पाकिस्तानसँग जोडिएका सडक सञ्जालमा पहुँच सुनिश्चित गर्नु हो।यससँगै अफगानिस्तानका कुल ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा पुगेका छन्।