देशका चार पर्यटकीय गन्तव्य जोड्यो हवाई उडानले – Dastabej

देशका चार पर्यटकीय गन्तव्य जोड्यो हवाई उडानले


  • दस्तावेज

  • चितवन । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो । बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ । आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उहाँले जानकारी दिनुभयो । बस्नेतले भन्नुभयो, “पर्यटकीय गन्तव्यसँगै उपचारका लागि भरतपुर आउन सहज भएको छ ।” यससँगै नारायणगढ–बुटवल सडक विस्तार भइरहेकाले यात्रुलाई सहज भएको उहाँको भनाइ छ ।

    क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे भारतीय पर्यटक नेपाल आउन भैरहवा–भरतपुर उडान प्रभावकारी हुने बताउनुहुन्छ । देशका चार प्रमुख पर्यटकीय गन्तव्य उडानमार्फत जोडिँदै गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उहाँको भनाइ छ । लुम्बिनीमा ठूलो सङ्ख्यामा पर्यटक आएर त्यहीँबाट भारततर्फ फर्कने गरेको भन्दै उहाँले ती पर्यटकलाई चितवनसहितका गन्तव्यमा ल्याउन उडान महत्वपूर्ण हुने बताउनुभयो । सडकको यात्रा गर्नु नपरेपछि छोटो समयमा धेरै ठाउँ घुम्न पाउने घिमिरेले बताउनुभयो ।पर्यटनविद् डा विश्व सुवेदीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले त्यहाँसँगको हवाई उडान चितवनका लागि निकै महत्वपूर्ण हुने बताउनुभयो । विभिन्न देशसँग उडानको सम्झौता भइसकेको भन्दै उहाँले यहाँका लागि निकट अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा हुने विश्वास व्यक्त गर्नुभयो । विश्वमा एक अर्बभन्दा बढी बौद्ध धर्मावालम्बी भएको भन्दै उहाँले उनीहरुको पहिलो गन्तव्य लुम्बिनी रहेको जानकारी दिनुभयो । त्यसैले त्यहाँसँगको चितवनको सम्बन्ध महत्वपूर्ण हुने सुवेदीको भनाइ छ । चितवन जङ्गल सफारीका लागि देशकै पहिलो गन्तव्य हो । यहाँको चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा जङ्गल सफारी गर्न पर्यटक आउने गर्दछन् । एक सिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, चराचुरुङ्गी पर्यटकको रोजाइमा पर्ने गर्दछन् । रासस

  • ३२ श्रावण २०७८, सोमबार १०:१९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान