खातामा डमरु हुर्काउँदै बघिनी – Dastabej

खातामा डमरु हुर्काउँदै बघिनी


  • कमल पन्थी

  • बर्दिया — लालाबाला लिएर सरिरहेकाहरूलाई भनिन्छ, ‘के गरेको बिरालोले बच्चा सारेजस्तो १’ बिरालोले बच्चा किन सार्छ ? यो प्रजातिका जन्तुका पोथीलाई आफ्ना बच्चाहरू शत्रु जीवबाट जोगाउन त्यति धेरै जोखिम नहोला जति आफ्नै भालेबाट पर्छ ।  भालेले भेटे बच्चा मार्छन् । त्यसैले पोथी बेलाबेला ठाउँ सारिरहन्छन् । बाघ बिरालो प्रजातिमै पर्छ र यतिबेला बर्दियाको खाता जैविक मार्गमा बघिनीहरू डमरु बच्चाहरू साथ लगाएर हिँडिरहेका देखिन्छन् ।बर्दिया राष्ट्रिय निकुञ्ज र सीमापारि भारतको करतनियाघाट वन्यजन्तु क्षेत्र बीचको करिब ५ किलोमिटरमा फैलिएको छ खाता जैविक मार्ग । दुवै आरक्षबाट वारिपारि गर्ने वन्यजन्तुलाई बीचमा बाधा नहोस् भनेर दुई दशकअघि करिब एक दर्जन सामुदायिक वनलाइ एकीकृत गर्दै खाता जैविक मार्ग घोषणा गरिएको थियो । यो क्षेत्रमा औरही खोला पनि पर्छ । जैविक मार्गसँग जोडिएको केही जग्गा नम्बरी र केही ऐलानी छन्, जहाँ भगरैया बस्ती छ । वन्यजन्तु आरक्ष र सामुदायिक वनसम्म आइपुग्दा भगरैयाका बासिन्दाले ओहोरदोहोर सजिलै देख्छन् ।

    स्थानीयका अनुसार केही वर्षअघिसम्म फाट्टफुट्ट मात्रै देखिने बाघ नियमितजस्तो देखिन थालेका छन् । गत वैशाख पहिलो साता यहाँ जोडी बाघ भेटिएको थियो । सीमावर्ती भारतीय जंगलबाट आएर मधुवन–३ भगरैयाको फाँटामा केही दिन बाघ बसेको थियो । त्यसको ठीक तीन महिनापछि जैविक मार्गअन्तर्गत चिरौटी सामुदायिक वनमा एउटा बाघले तीनवटा डमरु हुर्काइरहेको स्थानीय सनतकुमार शाहले बताए । ‘वर्षायाम हो, जंगलमा झाडी घना भएको छ । मान्छे त्यता जाँदैनन्,’ उनले भने, ‘डमरुसहित बघिनी बेलाबेलामा फाँटा वरिपरि आउने गरेको छ ।’बघिनी डमरुसहित भएको थाहा पाएपछि गाउँलेको हूल वनमा पस्न छाडेको छ । प्रत्यक्षदर्शीले नेपाल–भारत सीमामा तैनाथ सशस्त्र प्रहरीका युनिटलाई जानकारी गराएको सशस्त्रका एसपी नरबहादुर रावतले बताए । डमरुसहितको बघिनीले दुई साताअघि कोठियाघाट नजिक एउटा गोरु मारेको थियो ।‘डमरुसँगै रहेको बाघले गोरु मारेको भगरैया बीओपीमा गाउँलेले खबर गरेका थिए,’ सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरले भने, ‘त्यहाँ बढी झाडी भएकाले सर्वसाधारणलाई त्यहाँ नजान आग्रह गरेका थियौं ।’

    डमरु लिएर हिँडेको देखिएका बाघलाई बाधा पार्न नहुने राष्ट्रिय प्रकृति संरक्षण कोष ठाकुरद्वाराका प्रमुख डा। रविन कडरियाले बताए । ‘भालेबाट डमरु जोगाउन पोथी बाघले ठाउँ सार्छन् । यसै कारण पोथी बाघ जैविक मार्गका झाडीमा देखिएका हुन्,’ उनले भने, ‘यस्तो बेलामा मान्छे आम्नेसाम्ने पर्नु हुँदैन । सर्वसाधारण नजिक नजान आग्रह गरेका छौं ।’ जंगलबाट दिनहुँ बाघ, हात्ती, गैंडालगायत वन्यजन्तु ओहोरदोहोर गर्ने गर्छन् । वन्यजन्तु अधिकांशको उचित बासस्थान खाता जैविक मार्गमा हुने गर्छ । यस जंगलमा बाघलगायत वन्यजन्तुलाई उचित आहारा पाउने गरेकाले यहीं बस्न मन पराउने गरेको वन कार्यालयका कर्मचारी बताउँछन् ।संरक्षणकर्मीहरूका अनुसार बघिनीले बाघसँगको संसर्गको करिब चार महिनाभित्र सरदर दुईदेखि तीनवटा डमरु जन्माउँछे । भालेले खेदो गर्ने भएकाले प्रसूतिका लागि उसले छुट्टै ठाउँ छनोट गर्छे । १४ देखि १६ दिनमा डमरुका आँखा खुल्छन् । आठ हप्ताको भएपछि माउले ल्याएको सिकार खान थाल्ने डमरुहरू अढाई वर्षपछि भने परिवारबाट छुट्टिएर आफ्नो बेग्लै विचरण क्षेत्र बनाउने क्रम सुरु हुन्छ । पोथी बाघहरू डमरुको सुरक्षाप्रति निकै संवेदनशील हुन्छन् । त्यसैले खाता क्षेत्रका गाउँलेमा डमरु लिएर हिँडेको बघिनी बराबर देखिनुले त्रास छ ।

    खाता जैविक मार्गस्थित रेन्ज पोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले कोठियाघाटमा बाघको पनि ओहोरदोहोर भइरहेको बताए । उनले भने, ‘बच्चा लिएर हिँडेका बघिनी भएको झाडीमा पुग्नु ज्यानको बाजी लगाउनु हो । मान्छेले डिस्टर्ब गर्नु हुँदैन ।’ खाता क्षेत्रमा वनसँगै जोडिएका बस्ती छन् । ६० भन्दा बढी घरटहरा रहेको भगरैया गाउँका बासिन्दा बघिनीसँग डराएका छन् । गत आर्थिक वर्षमा बाघले यस क्षेत्रमा सात जनाको ज्यान लिइसकेको छ । मधुवनकै सम्झना सामुदायिक वनका अध्यक्ष एवं बडघर टीकाराम थारूले सामुदायिक वनभित्र बघिनीले डमरु हुर्काउन थालेपछि थप त्रसित भएको बताए । ‘हामी जिस्क्याउन जाँदैनौं तर त्यो आहारा खोज्दै बस्तीसम्म नआइपुग्ला पनि कसरी मान्नु ?’ उनले गुनासो पोखे । निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले डमरु हुर्काउँदै छ भन्ने जानकारी आएपछि डल्लास्थित पोस्टका कर्मचारीलाई यसबारे जानकारी लिन निर्देशन दिएको बताए । निकुञ्जको कार्यक्षेत्र नभएकाले जानकारी लिनेबाहेक अरू केही गर्न नमिल्ने उनले जनाए । खाता जैविक मार्गअन्तर्गत कोठियाघाट, भगरैया, बेलझुन्डी, धनौरालगायतका गाउँ विगत दुई दशकदेखि वन्यजन्तुको आतंकबाट स्थानीयवासी आजित छन् । बाघ बर्दिया निकुञ्जभित्र मात्रै नभई आसपासका क्षेत्रमा पनि देखिन थालेको छ । पर्यटन व्यवसायी रामजी थापाले बर्दिया बाघको राजधानी भनेर चिनिन लागेको बताए । चार वर्षअघि बर्दियामा ८७ वटा बाघ गणना भए पनि अहिले बढेर १ सय २५ पुगेको अनुमान निकुञ्जको छ । ईकान्तिपुर ।

  • १ भाद्र २०७८, मंगलवार १४:५७ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश