बाँके । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेले किसान कल सेन्टर स्थापना गरेको छ । किसानहरुलाई घरमै बसेर प्राबिधिक सेवा उपलब्ध गराउनका लागि किसान कल सेन्टर स्थापना गरेर सेवा दिन लागेको कृषि व्यवासाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख अमरराज शर्मा घिमिरेले बताए । कृषि प्रबिधिक सेवाका लागि किसानहरुले किसान कल सेन्टर १६६०८१५२०९९ मा निशुल्क फोन गरेर सेवा लिन सकिने घिमिरे जनाए । किसान कल सेन्टर स्थापना भएपछि अहिलेसम्म ४९ जना किसानले सेवा लिएकाछन् । गत बर्ष ४० जनाले सेवा लिएका थिए भने चालु आर्थिक बर्षमा ९ जनाले सेवा लिएकाछन् । जसमध्ये १२ जनाले प्रबिधिक सेवा लिएका छन् । मकैमा गभारो लागेको, गहुँको पाट बतारिएको, तरकारीमा सेतो झिँगा लागेको, केरामा खपते किरा लागेको जस्ता समास्या लिएर किसानहरु फोन गर्ने गरेको कार्यालयले जनाएको छ । जो किसानलाई प्राविधिक बिषयमा समस्या परेको हुन्छ, उसले कृषिको कार्यालयमा पुग्न सक्दैन भने त्यो कृषकले फोन गरेर प्रबिधिक बिषयमा जानकारी लिन सकिने घिमिरेको भनाई छ ।
कार्यालयले किसान कल सेन्टर संञ्चालनका लागि एक सहयोगी राखेर सेवा दिने गरेको छ । आईतबार, मंगलबार र बिहिबार दिउँसो एक बजे देखि ४ बजे सम्म बिज्ञ राखेर सेवा दिन लागेको छ भने अन्य दिन कार्यालय समयमा फोन गरेर सेवा लिन सकिने किसान कल सेन्टरका सहयोगी अनु अधिकारीले बताइन् । किसान कल सेन्टरलाई थप प्रभावकारी बनाउनका लागि नयाँ सफ्टवेर जडान गर्न लागेको प्रमुख घिमिरेले बताए । किसानहरुले कल गर्दा सकेसम्म कार्यालयबाट उनीहरुको समस्या समाधन गरिन्छ, यदी भएन भने अन्य प्रबिधिकलाई फोन गरेर पनि समस्या समाधन गर्ने गरेको घिमिरेको भनाई छ । किसान कल सेन्टर स्थापना भएको केही समय मात्रै भएकाले धेरै किसानहरुलाई जनाकारी छैन ।