अफगान युद्धमा कति पैसा खर्च भयो? एक वर्षमा लगभग एक खर्ब डलर खर्च – Dastabej

अफगान युद्धमा कति पैसा खर्च भयो? एक वर्षमा लगभग एक खर्ब डलर खर्च


  • दस्तावेज

  • अफगान सैनिक

    तस्बिर स्रोत,GETTY IMAGES तस्बिरको क्याप्शन, नेटोले अफगान सेनालाई तालिम दिन सघाएको छ

    अफगानिस्तानको सैन्य कारबाहीमा अधिकांश खर्च अमेरिकाले गरेको छ। सन् २०१० देखि २०१२ को बीचमा अफगानिस्तानमा एक लाख जनाभन्दा बढी अमेरिकी सैनिक परिचालित भएको अवस्थामा युद्धको खर्च बढेर एक वर्षमा लगभग एक खर्ब डलर पुगेको अमेरिकी सरकारी तथ्याङ्कले देखाउँछ। अमेरिकी सेनाले सैन्य कारबाहीको सट्टा तालिमलाई बढी जोड दिन थालेपछि युद्धको खर्च उल्लेख्य रूपमा घटेको थियो।  सन् २०१८ मा वार्षिक खर्च ४५ अर्ब डलर रहेको त्यतिबेला अमेरिकी रक्षा मन्त्रालय पेन्टगनका एक उच्च अधिकारीले अमेरिकी संसद्लाई बताएका थिए। अमेरिकी रक्षा मन्त्रालयका अनुसार अक्टोबर २००१ देखि सेप्टेम्बर २०१९ सम्मको अफगानिस्तानमा गरिएको सैन्य खर्च सात खर्ब ७८ करोड डलर पुगेको छ। त्यसबाहेक अमेरिकी विदेश मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (यूएसएड) र अरू सरकारी निकायले पुनर्निर्माणका काममा ४४ अर्ब डलर खर्च गरेका छन्।

    निर्वाचनमा मतदानकेन्द्र बनाउन सघाउँदै एक अमेरिकी सैनिक

    तस्बिर स्रोत,GETTY IMAGES तस्बिरको क्याप्शन,अमेरिकाले अफगानिस्तानमा पुनर्निर्माणको योजनामा पनि सघाएको छ

    त्यसले सन् २००१ देखि २०१९ सम्मको आधिकारिक तथ्याङ्कमा आधारित कुल खर्च आठ खर्ब २२ करोड डलर पुर्‍याउँछ।  तर त्यसमा अमेरिकाले अफगानिस्तानसँग सम्बन्धित कारबाहीका लागि आफ्नो आधारशिविरका रूपमा प्रयोग गर्ने पाकिस्तानमा गरिएको खर्च उल्लेख गरिएको छैन।अफगानिस्तान र पाकिस्तान दुवैमा युद्धका क्रममा भएको खर्चबारे सन् २०१९ मा ब्राउन यूनिभर्सिटीले गरेको अध्ययनले अमेरिकाले नौ खर्ब ७८ करोड डलर खर्च गरेको देखाउँछ जसमा आर्थिक वर्ष सन् २०२० मा उल्लेख गरिएको अनुमानित खर्चको लागत पनि समाविष्ट थियो। सरकारी निकायबीच लेखा परीक्षणको प्रणाली फरकफरक भएकाले सम्पूर्ण खर्च विवरण ल्याउन कठिन रहेको उक्त अध्ययनले उल्लेख गरेको छ र त्यसमा समयानुसार खर्च बदलिएकाले अनुमानित खर्चमा पनि परिवर्तन गरेको जनाइएको छ। अमेरिकापछि सबैभन्दा धेरै सैनिक पठाएका यूके र जर्मनीले क्रमशः ३० अर्ब डलर र १९ अर्ब डलर खर्च गरेका छन्। लगभग सम्पूर्ण सैनिक फिर्ता गरे पनि अमेरिका र नेटोले सन् २०२४ सम्म अफगानिस्तानको सुरक्षाबललाई बर्सेनि चार अर्ब डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। यो वर्ष अहिलेसम्म नेटोले सात करोड २० लाख डलर बराबरको उपकरण र सामग्रीहरू अफगानिस्तानलाई दिएको छ।

    पैसा कहाँ खर्च भयो?

    अफगानिस्तानमा खर्च भएको अधिकांश रकम प्रतिविद्रोह कारबाही र सैनिकका लागि आवश्यक रासन, लत्ता कपडा, स्वास्थ्य सामग्री, भत्ता र सुविधामा खर्च भएको छ।

    अफगानिस्तानमा मृत्यु भएका एक सैनिकको शवपेटिका

    तस्बिर स्रोत,GETTY IMAGES तस्बिरको क्याप्शन,अफगान सुरक्षाकर्मीहरू ठूलो सङ्ख्यामा हताहत भएका छन्

    आधिकारिक तथ्याङ्कले सन् २००२ यता अमेरिकाले पुनर्निर्माणसम्बन्धी काममा एक खर्ब ४३ अर्ब २७ करोड डलर खर्च गरेको देखाउँछ।  त्यसको आधाभन्दा बढी अफगान सेना र प्रहरीसहित सुरक्षाकर्मीका भवन बनाउन खर्च भएको थियो।झन्डै ३६ अर्ब डलर सुशासन र विकासमा छुट्याइएको थियो भने सानो परिमाणमा लागुपदार्थ नियन्त्रण र मानवीय सहायतामा रकम खर्च गरिएका थिए।यसमध्ये केही रकम उपयोग नभएको, भ्रष्टाचार र दुरुपयोग गरिएका बताइएको थियो।सन् २०२० मा अमेरिकी संसद्‌मा प्रस्तुत गरिएको प्रतिवेदनमा अफगानिस्तानको पुनर्निर्माणको अनुगमन गर्न जिम्मेवार एउटा निकायले सन् २००९ को मेदेखि सन् २०१९ को डिसेम्बर ३१ सम्म करिब १९ अर्ब डलरजति ‘हराएको’ उल्लेख गरेको थियो।

     

    कति मानिसको ज्यान गयो?

    तालिबान समूहविरुद्धको युद्ध सन् २००१ मा सुरु भएयता गठबन्धनको तर्फबाट ३,५०० जनाले ज्यान गुमाएका छन्।  तीमध्ये २,३०० भन्दा बढी अमेरिकी सैनिक छन्। यूकेका ४५० भन्दा बढी सैनिकले पनि ज्यान गुमाएका छन्। थप २०,६६० अमेरिकी सैनिक घाइते भएका छन्। तर अफगान सुरक्षा फौज र गैरसैनिक हताहत भएको तुलनामा उक्त सङ्ख्या थोरै हो।

    अफगानिस्तानमा अमेरिकी सैनिक. सन् २००२ देखि २०२० सम्म. Chart showing US troop levels in Afghanistan from 2002 to 2019 २०२० को तथ्याङ्क डिसेम्बरसम्मको.
    राष्ट्रपति गनीले सन् २०१९ मा अफगान सुरक्षा निकायका ४५,००० सदस्य आफू राष्ट्रपति निर्वाचित भएको पाँच वर्षयता मारिएको बताएका थिए।सन् २०१९ मा ब्राउन यूनिभर्सिटीले गरेको अध्ययनले युद्ध सुरु भएयता अफगानिस्तानको राष्ट्रिय सेना र प्रहरी गरी ज्यान गुमाउनेको अनुमानित सङ्ख्या ६४,१०० रहेको जनाएको छ।
    समाधिस्थल

    तस्बिर स्रोत,GETTY IMAGES

    अनि संयुक्त राष्ट्रसङ्घको अफगानिस्तानस्थित सहयोग मिशनका अनुसार सन् २००९ यता उसले व्यवस्थित रूपमा गैरसैनिकसम्बन्धी तथ्याङ्क राख्न थालेयता झन्डै एक लाख ११ हजार सर्वसाधारण नागरिकहरू हताहत भएका छन्। बीबीसी ।

  • ४ भाद्र २०७८, शुक्रबार १५:५६ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश