कन्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको कलुवापुर– बेलौरी सडक स्तरोन्नतिको कार्य ८० प्रतिशत पूरा भएको छ । दुई खण्डमा विभाजित गरी सडकमा वेस राख्ने र कालोपत्र गर्ने कार्य भइरहेको छ । सडकको बेलौरीस्थित नेपाल–भारत सीमा क्षेत्रदेखि चाँनदेउसम्मको १४ किलोमिटर र चाँनदेउदेखि कलुवापुरसम्मको १४ किलोमिटर गरी २८ किलोमिटर क्षेत्रमा कालोपत्रको कार्य भइरहेको छ ।पूर्वाधार विकास कार्यालयका प्रमुख दीपकसिंह नेगीका अनुसार हालसम्म जम्मा ११ किलोमिटर सडकमा कालोपत्रकार्य सम्पन्न भएको छ । सडकको बाँकी भागमा कालोपत्र गर्नेकार्य भइरहेको छ । आव २०७२÷७३ मा सन्तोषी थेगिम जेभीसँग रु १८ करोड २० लाखको लागतमा सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरिएको हो । ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले कालोपत्र गर्ने कार्यमा विलम्ब गर्दा कार्य सुस्त हँुदै आएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौंडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्यका लागि बेस राख्ने कार्य पूरा भएको छ । “निकुञ्ज कार्यालयले वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० प्रतिवेदन पेश नगर्दासम्म सडक कालोपत्र गर्ने कार्यअगाडि बढाउन दिएको छैन”, कार्यालय प्रमुख नेगीले भन्नुभयो, “प्रतिवेदन तयार गरी पेश गर्नका लागि कार्य अगाडि बढेको छ ।” पुरानै सडकको मौजुदा संरचनाको स्तरोन्नति गरेर लैजाँदा निकुञ्जले अवरोध गरेको हो । जिल्लाको पुरानो सदरमुकाम बेलौरी हँुदादेखि नै पाँच दशकअघिदेखि चलनचल्तीको सडकका रुपमा यो सडक रहेको छ । विसं २०१९ मा बेलौरीदेखि महेन्द्रनगर सदरमुकाम सारिएको थियो । बेलौरी सदरमुकाम हुँदा सञ्चालनमा आएको उक्त सडक कालोपत्र निर्माण अहिलेसम्म पूरा हुन पाएको छैन ।