किन मनाईन्छ अष्टिम्की पर्व ? – Dastabej

किन मनाईन्छ अष्टिम्की पर्व ?


  • मानबहादुर चौधरी ‘पन्ना’

  • १) विषय प्रवेशः चाडपर्वले मानिसलाई चौकस र चम्पन बनाउँछ । हरेक जाति समुदायको आफ्नो मौलिक तौरतरिकाले मान्ने विभिन्न चाडपर्वहरु रहेका हुन्छन् । थारू एक अलग पहिचान दिने खालको आफ्नै भाषा संस्कृति एवम् सामाजिक रीतिरिवाजहरू रहेको जाति हो । थारू जातिले अन्य जातिहरु जस्तै अनेकौ चाडपर्वहरु मनाउँदै आइरहेका छन् । तिनीहरु मध्ये ः १.माघ २.बर्का डश्या ३. फगुई ४.होरी ५.डेवारी ६.बर्का अट्वारी ७. अष्टिम्की ८. गुरही ९. बर्का पूजा १०. हरेरी ११.धुरेरी १२.हरढावा जस्ता धेरै पर्वहरु सामूहिक रुपमा मनाउँदै आएका छन् । थारूहरुको अष्टिम्की एक महत्वपूर्ण महिलाहरुले मान्ने पर्व हो ।

    २) अष्टिम्कीको तयारीः यो पर्वको आगमनको क्रममा तयारी सुरु गरिन्छ । चित्र बनाउँने भित्ता सेतो माटोले लिपिन्छ । त्यसैगरी मिठा मिठा तरकारीको पनि जोहो गरिएको हुन्छ ।जस्तै, केराहरु पकाउन, दही जमाउन, बारीको काक्रा, अम्बा (अमरुट), आदि फलहरु सोही दिनका लागि बचाएर बढ्न दिइन्छ । ब्रतालुहरु महिला, युवतीहरुका लागि अनिवार्य नयाँ कपडा किनेर सिलाएर ठिक्क बनाएको हुन्छन् र गर गहना पनि व्यवस्था गरेका हुन्छन् ।

    ३) अष्टिम्की चिनारीः अष्टिम्की पर्व खास गरेर महिलाहरुले मनाउँने पर्व हो । तर आजभोलि केही युवाहरु पनि यो ब्रत बस्न थालेको पाइन्छ । यो पर्व भाद्र महिनाको अष्टमीका दिनमा गाउँको बरघ¥या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्र सम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर चित्रको पूजा अर्चना गरिन्छ । यो पर्व कपिलवस्तु, रुपन्देहीदेखि पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतम धुमधामाका साथ मनाइन्छ । सप्तमीको रातमा भाले नबास्दै राति मिठो माछा, अन्य तरकारी पकाइ दर खाने चलन हुन्छ जसलाई थारू भाषामा डट्कन खैना पनि भनिन्छ । त्यसपछि अष्टमीको दिनभरि ब्रतालुहरु निराहार ब्रत बस्छन् । बिहानैदेखि अष्टिम्कीको चित्र बनाउने कार्यमा लागेका हुन्छन् । चित्र बनाउनेहरु पनि निराहार हुन्छन् । चित्र बनाउँने ठाउँमा ब्रत नबसेको मानिस जान वर्जित हुन्छ ।
    साँझपख ब्रत बसेका महिला दिदीबहिनीहरु नुवाइ धुवाई गरी सिंगारपटार गरगहना पहिरेर थालीमा चामल घुन्यासरको फूल, बलिरहेको बत्ती, एक जोर कागती वा निम्बु, रातो सिन्दुर, धुप आदि लिएर आफ्नो कुल देउताको थानमा दियो जलाई प्रत्येक ब्रतालुहरु घर घरबाट निस्किएर अष्टिम्की चित्र बनाएको महाटाँवाको घरमा जम्मा हुन्छन् र थालीमा ल्याइएको फूल,चामल, कागती त्यही पूजा गर्ने कोठामा लामबद्ध राखी घरमुलीबाट पूजापाठ सुरु भई पालैपालो सबैले भित्ते चित्रमा बनाइएको चित्रमा टिका लगाइ पूजा गर्दछन् । पूजा भइसके पछि युवा केटाहरु महिलाले ल्याएका निबु कागतीका भेट्नु काटेर भेट्नु मात्र राखी निबु, कागती लिएर जान्छन् । यो कार्य प्राय केटाहरु आफूले मन पराएका केटीले राखेको युवतीको निबु, वा कागतीको भेट्नो काट्ने प्रचलन छ । त्यही भएर केटाहरु त्यतिबेला तछाडमछाड गरेको दृश्य रमाइलो र हेर्न लायक हुन्छ । यसपछि ब्रतालुहरु आआफ्नो घर गइ विभिन्न थरिका फलफूलहरु परिकार एक भाग अलग्याइ अलि अलि सबै फलफुलको भाग चिमोटी अग्नीमा हवन गरी धुप जलाई पुजापाठ गरेर पानीले पर्छेर फलफुल खाइवरी गरी पुन महाटाँवाको घर गइ रातभरि कृष्ण लीला गीत गाउँने, नाच्ने गर्दछन् । अष्टिम्की गीत गाउँनुभन्दा पहिले चारै दिशाका देवता एवम् देवी दुर्गालाई स्मरण गरेर मात्र गीतको सुरुवात गर्नुपर्दछ ।

    सम्ह्रौटीः
    पूरुब मै सुमीरौ सुरज गोसाइँ
    पछिउँ मै सुमिरौ रमझम (निरञ्जन) देवी खरतारे ।।१।।
    उत्तरे मै सुमिरौ हरि कविलासे
    दक्षिण सुमिरौ शिव जगन्नाथ ।।२।।
    आकाश सुमिरौ इन्द्र ओ चन्द्र
    पाताल सुमिरौ बासुकी नाग ।।३।।
    पहिल मै सुमिरौ गउँकी भुइह्यार
    हमारी मेररिया दिउँता करही रक्षा पाल ।।४।।
    दिहबु मै सुमिरौ देउ देवारिन
    हमरी मेररिया करो रे रक्षा पाल ।।५।।
    मेररिया मझिमारे सुमिरौ मै टुही
    कण्ठ बैठो मोर गीत देहूँन सिखाइ ।।६।।
    पूर्वमा सूर्य देवता, पश्चिममा रमझम निरञ्जन देवी, उत्तरमा पाटन देवी (हरि कविला),दक्षिणमा शिब जगन्नाथ, आकाशतिर चन्द्र र इन्द्र पातालमा बासुकी नाग देवता र गाउँको साझा ठन्वा भुइहयार(मन्दिर) आदिको स्मरण गरेर मात्र यो पर्वको कृष्ण लीला थारु गीत गाइन्छ ।

    अष्टिम्की गीतको केही अंशः
    पहिल त सिरीजित गैल जलथल धरती
    सिरीजित त गैल कैल कुश रे दाप ।।१।।
    दुसर त सिरजल अन्न कही पात
    सिरीजित गैल अन्न कही विरोग ।।३।।
    तिसर त सिरजल अन्न कही डार
    सिरिजित गैल अन्न कही फल।।४।।
    चौठा सिरिजित गैल अन्न कही फूल
    सबहु देउता हो मिली लेउ फुल वास ।।५।।
    सिरिजित गैल कारी मनखवा
    कारी मनखवा कल मै बरी बाटुँ ।।६।।
    कारी मनखवा कहल मै बरी बाटुँ
    दिउता जे कहल मै बरी बाटु ।।७।।
    कारी मनखवा कहल मै बरी बाटुँ
    सिरिजित गैल बिरछिक रुखवा ।।८।।
    बिरछि चरहल बारु कन्हैया
    बिरछि चरहल बारु कन्हैया किचिर किचिर बोल ।।९।।

    यो संसारमा सबैभन्दा पहिला जल र थलको उत्पत्ति भयो । त्यसपछि क्रमश कुश, अन्न, फल, मानव, रुख विरुवा आदिको उत्पत्ति भएको हो भन्ने कुरा गीतमा रहेको छ । राति महाटाँवाको घरमा जग्राम गरेर बिहान सबैजना हिजोको थालमा बलिरहेको दियो, फुल, निबुको भेट्नु, अछिता पात आदि नजिकैको खोलामा सेलाउन जान्छन् । विशेष सजधजका साथ सजिएका युवतीहरुको लाम निकै सुन्दर र मनमोहक रहेको हुन्छ । खोलाबाट सेलाएर नुवाइ धुवाइ गरी घर फर्केर लिपपोत गरी भान्सामा पकाएको चोखो पवैको साग, मासको गेडाको तरकारी, माछा आदिको परिकार सहितको खाना तयार हुन्छ । यी सबै परिकार तरकारी छुट्टै टपरीमा एक भाग अलग्गै राखिन्छ । यसलाई अग्रासन पनि भनिन्छ । त्यसपछि ती तरकारी, भात सबै मुछेर अग्नीमा हवन गरेर पुजापाठ गरि खाइवरी गर्छन् । छुट्याएको अग्रसानलाई बिहे गरेको महिलाहरु चाहिँ माइतमा आफ्नो दाजुभाइलाई दिन जान्छन् ।

    ४) कुन कुन भगवान एवम् प्रकृतिको पूजा गरिन्छ ?

    थारूहरू प्रकृतिपूजक जाति हुन् । उनीहरु आफूसँग जे छ त्यसैलाई उपयोग गर्ने गर्दछन् । जीवनयापनका क्रममा जेजे प्रयोग र उपयोगी भए ती सबैलाई सम्मान गरिएको चित्रको पूजा हो अष्टिम्की ।

    माथिको चित्रमा बनाएका चित्रहरुको नामको सूचीः
    १.कृष्ण(कान्हा)२.(सूर्य)दिन ३.चन्द्र(जोन्ह्या) ४.पाँच पाण्डव (पाण्डो) ५. कौरव (कौराओ) ६.डोली ७.बनुवा ८.मञ्जोर ९.ऊँट १०.हात्ती ११.नाउ (लाउ) ११. बाँसुरी बजाएको कृगण(कान्हा) १२. कुकुर (कुक्रा) १३.रावण (रौना)१४.सर्प (सप्वा) १५.राम र सीताको अभिभावक १५.घोडा (घो¥वा) १६.भाले (मुर्घा) १७.माछा (रैनी मछरिया) १८. रुख १९.बाँदर २०.बाघ (बग्घ्वा)२१. पुरैत पाता (कमल फूलके प्रतिक) यसरी विभिन्न प्राकृतिलाई पूजापाठ गरिने पर्व वारे विभिन्न मिथक रहेका छन् । यो पर्वको चित्र खासमा मूल खाकाको भित्र तीन वटा बोर्डरमा चित्रहरु अङ्कित गराइ बनाइन्छ ।

    १) कृष्ण (कान्हा)ः यो भित्ताको सबैभन्दा माथि भागमा रहन्छ र चित्रको तलको रुखमा पनि बाँसुरीसहित चित्रित रहन्छ । यो पर्वकै मूल नायक नै कृष्ण हुन् । उनले सबै जीवजन्तु,पशु प्राणीलाइ आफ्नो बाँसुरीले मोहित बनाउने कला भएकाले रुखको टुप्पोमा बसेर बाँसुरी बजाएको चित्र रहेको हुन्छ । उनको विशेष पूजा आराधाना गरिन्छ ।
    २) सूर्य (दिन)ः थारू जाति प्रकृतिकै पुजक हुन्छन् । यो भित्ताको बाँयातर्फ अङ्िकत रहन्छ ।
    ३) चन्द्र (जोन्ह्या)ः यो पर्वका चन्द्रमाको पनि पूजा गरिन्छ । अष्टिम्की चित्रको दायातर्फ अङ्िकत रहन्छ ।
    ४) पाँच पाण्डव (पाण्डो)ः थारू समुदायमा पाँच पाण्डव विशेष पूज्य देवताका रुपमा मानिन्छन् । पाँच पाण्डव हरेक गाउँको साझा ठन्वा (मन्दिर) मा विशेष स्थान रहन्छ । यो पर्वमा चित्रको पहिलो पंक्तिमा रहेका हुन्छन् । यिनीहरुको हातमा छाता समातिएको चित्र बनाइन्छ ।
    ५) कौरव (कौराओ)ः यो पर्वको दोस्रो लहरमा कौरवहरु पनि स्थान पाएका छन् । पाण्डवहरुभन्दा मुनिको पंक्तिमा कौरवको चित्र रहन्छ । यिनीहरु अलि उग्र प्रवृतिका भएकाले हातमा बन्दुक समातिएको चित्र बनाइने किंवदन्ती रहेको छ भने अर्को मत अनुसार कतै कतै यो लहरमा महिलाको चित्र पनि पाइन्छ । महिलाको चित्र चाहिँ सोह्र हजार गोपिनीहरुको सङ्केतको रुपमा रहेकोले महिलाहरुलाई पुजिदै आएको मिथक पनि रहेको छ । अनुसन्धाता अशोक थारूका अनुसार दोस्रो लहरमा यो द्रौपतीको प्रतिकको रुपमा चित्र बनाउने पुज्ने गरिदैँ आएको तर हाल वर्तमान अवस्थामा ट्विष्ट गरेर विभिन्न पुरुषको चित्र बनाएको पाइने बताउनु हुन्छ ।
    ६) रौना (रावण) ः अचम्मको कुरा अष्टिम्की पर्वमा बाह्र वटा टाउको भएको रावणको पनि चित्र अङ्कित हुन्छ । यसमा टिका लगाइदैन । विशेष गरेर ससाना नानी (केटीहरु)ले मात्र यसमा टिका लगाइ घाउ खटिरा नआओस्, बिरामी नहोस् भनेर पुर्कार्ने गरेको पाइन्छ । यो चित्रको बारेमा विद्वान महेश चौधरीको फरक मत छ । यो चित्र रावणको नभइ सृष्टिकर्ता ब्रम्हाको हो । कालान्तर चित्र बनाउँदा टाउको धेरै देखेर रौना (रावण)को हो भनेर व्याख्या गरिएको तर्क गर्छन् । अर्का विद्वान अशोक थारू, डा. कृष्णराज सर्वहारी आदिले बाह्र वटा मुन्टो भएकोले पूर्खाहरु बरमु¥वा भन्छन् । यसको अर्थ बाह्रवटा मुन्टो भएको बुझाउँछ । अझै यस बारे अनुसन्धान गर्न जरुरी छ ।
    ७) यसै गरी अष्टिम्कीको चित्रमा प्राचीन समयमा समयको सूचक मानिने भाले, घरको रक्षक कुकुर, जङ्गलसँग निकट रहने कजरिक बन्वा (वन), हात्ती, बाघ, बाँदर, को विभिन्न प्रकृतिहरुको पूजा यस पर्वमा गरिन्छ ।
    ८) माछा ः खास गरेर माछा थारू समुदायमा विशेष मानिन्छ । यो माछालाई रैनी मछरियाको नामले पुजिन्छ । यो धरतीको सृष्टिसँगै सवभन्दा पहिले माछाको अवतार भएको र कृष्ण (कान्हा) को पिता बासुदेव (ईसरु) खेती पातीका लागि हलो, जुवा आदि काट्न जाने क्रममा नदी तर्दा त्यही माछामा बसेर नदी तरेको किंवदन्ती थारु अष्टिम्की पर्वको गीतमा उल्लेख छ । हरेक शुभ कार्यदेखि मृत्य संस्कारमा समेत प्रयोगमा आउने माछालाई रैनी मछरियाको नाममा पुजिन्छ । अष्टिम्की पर्वमा पनि फलहार गर्दा अनिवार्य माछाको पकवान हुन्छ ।
    ९) यसैगरी डोली, रामका पिता दशरथ र सीताका पिता जनकको सम्धी सम्धीको चित्र, मुजुर,नाउ, ढिंकी, हलो जोतेको चित्र आदि विभिन्न चित्रमा पूजापाठ गर्ने यो पर्वको विशेषता हुन् ।

    ५)अष्टिम्की पर्वको महत्वः
    हरेक चाडपर्व आफ्नै महत्व बोकेको हुन्छ । अष्टिम्की पर्वको पनि विशेष महत्व रहेको छः थारू सबै महिला दिदीबहिनीहरु सामूहिक ब्रत बस्ने भएकाले समाजमा एकता कायम गर्छ ।दाजुभाइ दिदीबहिनीहरुबिच प्रगाढ सम्वन्ध बनाउँछ ।प्राकृतिक रुपमा विभिन्न जीवजन्तुहरुको पूजापाठ गरिने यो पर्वमा प्रकृतिसँग निकट सम्वन्ध रहेको बुझाउँछ । अष्टिम्कीको गीतमा यो ब्रम्हाण्डको सृष्टि भएदेखि सबभन्दा पहिले केकेको सिर्जना भयो भन्ने आख्यानले ती सिर्जित प्रकृतिको पूजा हुनुले प्रकृति पुजक जातिको रुपमा चिनाउँछ । गाउँभरिका महिला, युवतीहरु नयाँ कपडा सजधजका साथ प्रत्येकको हात हातमा दियो सहितको थालीले साँझको दृश्य नै ज्योर्तिमय बनाएको बनाउँछ । यसले गाउँमा रौनकता बढाउँछ ।
    ब्रत बसेपछि मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले भक्तिपूर्वक मनाइने यो चाडले प्रकृति र भगवानप्रतिको आस्था जगाएको छ ।
    ६) निष्कर्षः
    चाडपर्वको आफ्नै मूल्य मान्यता र महत्व हुन्छ । थारू जातिमा विधिवत रुपमा महिलाहरुले मात्र निराहार ब्रत बस्ने यो पर्व हिजो दिनमा जुन किसिमले मनाइन्थ्यो । आजभोलि सामान्य औपचारिकतामा सीमित हुँदै गएको पाइन्छ । गाउँभरिका महिलाहरु एकै ठाउँमा जम्मा भई मनाउने यो पर्वमा आजभोलि एक्लै आफ्नो कोठामा कृष्णको फोटो ल्याइ पूजापाठ गर्ने प्रवृति बढेकाले सामाजिकतामा कमि महशुस गर्न सकिन्छ । कोही धनीमानी व्यक्तिहरुको तडकभडकले समाजमा असर पु¥याएको पाइन्छ । त्यसकारण परम्परादेखि चलिआएको आफ्नो मौलिक परम्परालाई संरक्षण गर्दै मौलिकपनलाई आत्मसात गरी मनाउन जरुरी छ ।

    सन्दर्भ सूचीः
    कोपिला छविलाल हमार संस्कृति (२०७१) आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान जावलाखेल काठमाडौँ ।
    चौधरी पन्ना मानबहादुर थारु सख्या नाच गीत (२०७०)युनिक नेपाल बर्दिया ।
    डा. दहित गोपाल थारू संस्कृतिको परिचय (२०७७) युनिक नेपाल बर्दिया ।
    डा.सर्वहारी कृष्णराज बिहान (२०५८) थारू युवा विद्यार्थी परिवार,काठमाण्डौ ।
    शत्रुघन चौधरी अष्टिम्की गीत (२०७४) आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान जावलाखेल काठमाडौँ ।

     

  • १२ भाद्र २०७८, शनिबार १३:२८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ