नेपालगन्ज । गाडी चालक कृष्णबहादुर विकको हत्या भएको दाबी गर्दै आफन्तहरुले तीन दिनदेखि पोष्टमार्टम गर्न रोकेका छन् । उनका आफन्तहरुले घटनाको अनुसन्धान गर्न माग गरेका छन् । नेपालगन्जदेखि बर्दियाको राजापुरसम्म गाडी चलाउँदै आएका विक बाँके खजुरा गाउँपालिका घर भएका उनी शनिबार राति राजापुरको बसपार्क नजिक रहेको शिव होटेलमा सहकर्मीसहित बास बसेका थिए । उनी गर्मी भएको भन्दै साथीहरुसंग होटलको छतमा सुतेका बेला राति १२ वजे घाईते अवस्थामा छतको तला भेटिएका थिए । घाईते अवस्थामा भेटिएका उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका दाजु गौरी विकले भाईको मुखमा गहिरो चोट रहेकोले कसैले हत्या गरेको हुनसक्ने दाबी गरे । उनले छतबाट खसेको भए त्यसरी घाउ नहुनुपर्ने जनाए । उनका अनुसार अनुहारमा धारिलो हतियार काटेको जस्तो देखिन्छ ।
मृतकको पोष्ट मार्टमका लागि राजापुरका एक दिन शव राखियो । तर आफन्तले पोष्टमार्टमबाट घटना बारे धेरै कुरा खुल्ने भन्दै आईतबार साँझ पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा ल्याएका छन् ।मंगलबार दिउँसोसम्म पोष्टमार्टम हुनसकेको छैन । मृतकका परिवार र प्रहरी प्रशासनबीच छलफल भइरहेको छ । प्रहरीले विकसंग सुतेका तीन जना र होटेल सन्चालकसंग घटनाबारे सोधपुछ गरिरहेको छ । उनीहरुले गाडी चालक विक छतबाट खसेपछि मात्रै थाहा पाएको बयान दिएका छन् ।