काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० विन्दुमा ओर्लिएको छ । साताभर कूल २३० कम्पनीको कूल आठ करोड ३२ लाख ९० हजार ८६४ कित्ता शेयर रु ४७ अर्ब ६७ करोड ८७ लाख ११ हजार ८९ मूल्यमा खरिदबिक्री भए । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा लगाएपछि बजारमा त्यसले प्रभाव पारेको अनुमान गरिएको छ । यस साता कूल चार दिन शेयर कारोबार भयो । सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन । साताको पहिलो दिन निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत् उपसमूहको शेयर मूल्य उच्च अङ्कले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग्यो । साताको पहिलो कारोबार दिनमा बजार उकालो लाग्ने अनुमानका बीच नेप्से ओरालो यात्रा तय गरेको थियो । त्यस दिन नेप्से ४९.१८ विन्दुले ओरालो लागेर तीन हजार ४४.८६ विन्दुमा सीमित भयो । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ८.५७ विन्दुले घटेर ५६२.८८ मा ओर्लियो । कूल २२७ कम्पनीको दुई करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर रु १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भयो । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ५४ अर्ब ३२ करोड १९ लाख दुई हजार ८४६ बराबर कायम भयो । कारोबारका आधारमा त्यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ बराबरको कारोबार भयो । त्यस दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । साताको तेस्रो दिन मङ्गलबार शेयर बजारमा उच्च अङ्कको पहिरो लाग्यो र नेप्से र कारोबार रकम दुवै घटे ।