काठमाडौं । कांग्रेस वडा अधिवेशन २१ जिल्लामा अझै अनिश्चित छ । लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको कृयाशिल सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । कर्णाली प्रदेशका डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा, डढेल्धुरा र कैलालीका क्रियाशील सदस्यको सूची पनि हालसम्म प्राप्त नभएको निर्वाचन समितिले जनाएको छ । तर शुक्रबार ३५ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको थियो । पार्टीले क्रियाशील सदस्यताको सूची दिएका जिल्लामध्ये ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले भदौ १८ अघि ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको थियो ।
शनिबार डढेल्धुराका क्रियाशील सदस्यको सूची समितिलाई प्राप्त हुने जानकारी आएको बताइएको थियो । तर बेलुकीसम्म पनि सूची प्राप्त नभएको समितिले जनाएको छ । डढेल्धुरा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । क्रियाशील सदस्य सार्वजनिक भएका बाँकी जिल्लाको वडा अधिवेशन छिटो गर्न समितिले पार्टीलाई निर्देशन दिएको छ ।क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका २१ जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ । क्रियाशील सदस्यको सूची सार्वजनिक भएको दुई घण्टाभित्र जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएर खटाउन सकिने गरी तयारी भएको छ ।
कांग्रेसले ७५३ वटै स्थानीय तहको अधिवेशन भदौ २७ गते गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । त्यसअघिसम्म ७७ वटै जिल्लाका सबै वडाको अधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिले पार्टीको ध्यानाकर्षण गराउँदै आएको छ ।करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।