काठमाडौँ, २३ भदौ (रारास) ः लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ । उक्त लक्ष्यसहितको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको हो । बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औँ वार्षिकोत्सव समारोहमा उक्त योजना सार्वजनिक गर्नुभएको हो । “दिगो विकास लक्ष्य हासिल गर्न कूल वार्षिक औसत रु पाँच खर्ब ५८ अर्ब अपुग हुने देखिन्छ, कोरोनाका कारण विभिन्न देश आफैँ लगानी भित्र्याउने प्रयास गरिरहेको अवस्थामा हामीले आकर्षित गर्न सजिलो छैन, तर हामी आशावादी छौँ”, प्रधानमन्त्री देउवाले भन्नुभएको छ । उक्त योजनमा कम्तीमा एक लाख रोजगारी सिर्जना गर्न सहयोग गर्ने र प्रभावकारी लगानी प्रवद्र्धनका लागि वातावरण निर्माणमा योगदान पु¥याउने उल्लेख छ । यस्तै रणनीतिक योजनामा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न महत्वपूर्ण पाँच मूल लक्ष्यसमेत लिइएको छ । परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारीसहित चारखम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच पनि योजनामा छ । अर्थमन्त्री जनार्दन शर्मा भन्नुहुन्छ, “अब बोर्ड एक कदम अघि बढेर लगानीका उपयुक्त परियोजनासहित लगानीकर्तासमक्ष पुग्नुपर्छ ।”