कर्णाली । सिमकोट गाउँपालिकाले अविरल वर्षाले अवरुद्ध सडक खुलाउन प्रयास जारी राखेको छ । यसका लागि गाउँपालिकाले निजी एक्साभेटरलाई प्रतिघण्टा रु १३ हजार खर्च गरिरहेको छ । गाउँपालिकाका वडा नं १ दोजाम, २ ठेहे र ३ बरगाउँको बाटो भत्केको आठ महिना बितिसकेको छ । समयमा मरमत नगरिँदा सडक अवरुद्ध बनेको हो । अहिले स्थानीयवासीलगायत आवतजावतमा निकै समस्या भएको छ । भत्किएको सडक गाउँपालिका आफैँले मर्मत गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारीदिनुभयो ।
यतिखेर सिमकोट वडा ४ बुराउँसेबाट वडा नं ३ लाङदु बरगाउँ हुँदै वडा नं २ ठेहेसम्मको सडक मर्मत गाउँपालिकाले गरिरहेको वडा नं ३ का वडाध्यक्ष ताक्ला जिक्मेत लामाले बताउनुभयो । आन्तरिक पर्यटकका लागि रलिङ गुम्बा अति उत्तम स्थान मानिन्छ । सो स्थानमा जाने मुख्य बाटो भत्कँदा पर्यटकलाई आवतजावतमा निकै सास्ती भएको छ । सिमकोट –१ दोजामसम्म सडक निर्माण गरिसकेपछि मात्र एक्साभेटर फिर्ता भएर पर्यटकीय मार्ग रलिङ गुम्बा जाने सडक निमार्ण गरिने जनाइएको छ । (रासस)