एमसीसी उपाध्यक्ष फतिमा जी सुमर भन्छिन्, ‘आर्थिक सहायतामाथि राजनीतिकरण दुर्भाग्यपूर्ण’ – Dastabej

एमसीसी उपाध्यक्ष फतिमा जी सुमर भन्छिन्, ‘आर्थिक सहायतामाथि राजनीतिकरण दुर्भाग्यपूर्ण’


  • दस्तावेज

  • काठमाडौं ।  नेपाल भ्रमणमा आएकी अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा जी सुमरले आर्थिक अनुदानलाई राजनीतिक मुद्दा बनाउन नहुनेमा जोड दिएकी छन्।उनले नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदनका लागि समय घर्किरहेको बताउँदै चाँडै नेपालले यसबारे निर्णय लिनेमा आफू आशावादी रहेको बताइन्।विद्युत् प्रसारण लाइन र सडक निर्माणमा खर्च गरिने करिब ६० अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौतालाई लिएर नेपालभित्र गहिरो मतभेद छ। अघिल्लो साता नेपाल सरकारका प्रश्नहरूमा स्पष्टीकरण पठाएको अमेरिकाले उक्त सम्झौतालाई यथाशीघ्र कार्यान्वयनमा लानुपर्ने जोड दिइरहेको छ।नेपालमा रहँदा सुमरले प्रधानमन्त्री शेरबहादुर देउवा र उनको सत्ता गठबन्धनका नेताहरूसहित प्रमुख प्रतिपक्षी दलका नेता र सरकारका वरिष्ठ अधिकारीहरूलाई भेटेकी थिइन्। एमसीसी अनुदानसम्बन्धी कम्प्याक्ट सम्झौतालाई अहिलेकै अवस्थामा कार्यान्वयन गर्ने विषयलाई लिएर सत्ता गठबन्धनभित्रै मतभेद छ।उक्त सम्झौतालाई संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवालाई सत्तारूढ गठबन्धनका दलहरू वा प्रमुख विपक्षी नेकपा एमालेको सहयोगको आवश्यकता पर्छ।

    एमसीसीको विरोध ‘दुर्भाग्यपूर्ण’
    आफ्नो चार दिने भ्रमण सम्पन्न गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी अनुदान सम्झौतालाई राजनीतिक स्वार्थ प्राप्तिको माध्यम नबनाउन अनुरोध गरेकी थिइन्।एमसीसी कम्प्याक्टका बारेमा नेपालले राखेका प्रश्नको जवाफ आफूहरूले पठाएको र त्यसबारे नेपाली नेतृत्वका थप जिज्ञासाहरू आफ्नो भ्रमणका क्रममा सम्बोधन गर्ने प्रयास गरेको उनले उल्लेख गरिन्।उनले भनिन्, “कम्प्याक्टमा हस्ताक्षर भएको चार वर्ष भइसकेको छ। अब यसलाई अनुमोदन गर्ने बेला भयो। मलाई थाह छ धेरै बयानबाजी भइरहेका छन् र मिथ्या सूचनाहरू पनि फैलिएका छन्। यो दुर्भाग्यपूर्ण हो।””मानिसहरूलाई सही निर्णय गर्नबाट वञ्चित गर्न त्यसलाई प्रयोग गरिएको छ। मैले थप केही प्रश्न वा प्रस्ट पार्नुपर्ने विषय छन् कि भनेर पनि सोधे। हाम्रा भेटवार्ताहरूपछि सबै नेता र सांसदहरूसँग जिम्मेवार निर्णय गर्न आवश्यक सूचना उपलब्ध छ भनेर आश्वस्त छु।”नेपालकै इच्छा अनुसार एमसीसी अघि बढाइएको भन्दै उनले विगतका आठ वटा सरकारले यसको कार्यान्वयनका लागि प्रतिबद्धता जनाएको उल्लेख गरिन्।वासिङ्टन डिसीबाट आएको उपाध्यक्ष सुमरको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री देउवाले आफूले एमसीसीबारे राजनीतिक स्तरमा छलफल जारी राखेको बताएका थिए। विपक्षी नेता केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा एमसीसी पारित गराउन आफूले प्रयास गरे पनि अहिले सत्ता गठबन्धनको निर्णय हेरेर धारणा तय गर्ने धारणा राखेका थिए।देउवा गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू एमसीसीबारे राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका विवरण आएका छन्।

    सुमरले नेपाली नेतालाई राखेको प्रश्न
    एमसीसीको संसदीय अनुमोदनको समय घर्किरहेको भन्दै सुमरले महामारीपछिको विश्वको बिग्रँदो आर्थिक अवस्थालाई ध्यान पुर्‍याएर अनुदानको सदुपयोग गरिनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “हामी सबै एउटा विश्वव्यापी महामारीमा बाँचिरहेका छौँ। २५ वर्ष गरिबी विरुद्ध लडेर हासिल गरेका उपलब्धि हामीले २५ सातामै गुमाएका छौँ।” “एमसीसी कम्प्याक्टले उपलब्ध गराउने आर्थिक विकासको अवसर महामारीका कारण यसअघि भन्दा थप सान्दर्भिक भएको र यो क्षणलाई नेपाललाई गुम्न दिन नहुने मैले मेरा प्रत्येक भेटवार्तामा जोड दिएकी छु।” आफूले भेटेका सबै नेताहरूलाई एमसीसीको अनुमोदनको काम सम्पन्न गर्नका लागि तपाईँहरूले थप कतिन्जेल कुर्नुहुन्छ भनेर प्रश्न गरेको पनि उनले बताइन्। सुमरले एमसीसीको संसदीय अनुमोदनका लागि कुनै समय सीमा तोकेर आफूहरूले छलफल नगरे पनि यथाशीघ्र सम्झौता अनुमोदन हुनुपर्ने धारणा आफूले राखेको उल्लेख गरिन्।

    भेटवार्ताहरूबाट आशावादी रहेको बताएकी उनले संसद्बाट अनुमोदन भएपछि मात्रै एमसीसी कार्यान्वयनमा जाने बताइन्। एमसीसीमा कुनै सैन्य अङ्ग नरहेको भन्दै उनले अमेरिकी सहायता कुनै सर्त लिएर नआउने पनि उल्लेख गरेकी थिइन्। एमसीसीबारे नेपालले जस्तो सुकै निर्णय लिए पनि सात दशकदेखिको अमेरिका नेपाल सम्बन्ध निरन्तर रूपमा अघि बढ्ने सुमरले उल्लेख गरेकी छन्। बीबीसी ।

  • २८ भाद्र २०७८, सोमबार ०८:१९ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ