काठमाडौं । एएफसी वुमन एशियन कप, २०२२ छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान पुगेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तानको तास्कन्द पुगेको हो । तास्कन्दमा नेपाली टोलीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । परीक्षण रिपोर्ट नआउँदासम्म नेपाली टोली होटलमै आइसोलेशनमा बस्ने छ । टोलीका मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स रहनुभएको छ ।
नेपाल समूह ‘एफ’मा छ । सो समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले फिलिपिन्ससँग आगामी असोज २ गते तथा असोज ५ गते हङकङसित खेल्नेछ । सो समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ । नेपाली टोलीमा अञ्जना राना मगर, अञ्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला चौधरी र दीपा राई हुनुहुन्छ ।