नेपालगन्ज । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वलाई लक्षित गरी नेपालगन्ज लगायत मुलुकका ठूला शहरहरुमा सुपथ मुल्य पसल राख्ने तयारी थालेको छ । सुपथ मुल्य पसल असोज १ गतेदेखि सञ्चालन हुने छ । लिमिटेडले काठमाडौं उपत्यका र बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने जनाएको छ ।
लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले असोज १ गतेदेखि कार्यालय रहेका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइने जानकारी दिइन । उनका अनुसार कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु १० छुट दिनेछ । कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ । यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ । कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्गाको बिक्री वितरण रोकेको थियो ।