बर्दिया ।कोरोना भाइरसका कारण बन्द गरिएको बर्दिया राष्ट्रिय निकुन्ज पछिल्लो समय खुला गरिएपछि आन्तरिक पर्यटकहरु घुमघाम गर्न आउन थालेका छन् । प्रमुख संरक्षण अधिकृत बिष्णु श्रेष्ठका अनुसार चाडपर्वलाई लक्षित गरी घुमघाम गर्नका लागि बर्दिया निकुन्जलाई खुल्ला गरिएको हो ।
शनिबार केही आन्तरिक पर्यटकहरुको समूह बर्दिया निकुन्जमा प्याकेजमै घुम्न आएका छन् । पर्यटकहरु बढ्ने क्रम सुरु हुने बर्दिया निकुन्जले जनाएको छ । आन्तरिक पर्यटकहरु घुम्न आउन थालेपछि यहाँको पर्यटन क्षेत्रलाई सहयोग पुग्ने छ । कोरोना भाइरस संक्रमणका कारण बर्दियाको ठाकुरद्धाराका होटेलहरु धरासयी बनेका छन् ।
स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक, र्याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतीक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथप्रदर्शकसहित तीन जना मात्र जानुपर्नेलगायत मापदण्ड बनाइएको श्रेष्ठले बताए ।