सोमालियामा कार बम विस्फोट, कम्तिमा १० जनाको मृत्यु – Dastabej

सोमालियामा कार बम विस्फोट, कम्तिमा १० जनाको मृत्यु


  • दस्तावेज


  • मोगादिशु, २८ पुस (रासस÷सिन्ह्वा) ःसोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

    बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भन्नुभयो, “एक आत्मघाती बम आक्रमणकारीले अन्तरराष्ट्रिय विमानस्थल नजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुनसक्ने आक्रमणमा पाँच सैनिकसहित १० जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।”

    मोगादिशुको ‘२१ अक्टूबर रोड’मा कारलाई सेनाको गाडीसँग ठक्कर दिई विस्फोट गराइएको उहाँले बताउनुभयो ।

    वार्डेयरले घटनास्थलमा सञ्चारकर्मीसँग भन्नुभयो, “हामीलाई घटनाबारे अहिले थप जानकारी भएको छैन । आक्रमणको निशाना कसलाई बनाइएको हो भन्नेबारे अनुसन्धान सुरू गरिएकोले यसबारे थप जानकारी छिट्टै सार्वजनिक गरिनेछ ।”

    घटनास्थलमा खिचिएका दृश्यहरूमा कालो धुवाँ निस्किरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीले केही गाडीहरू आगोले जलेका बताएका छन् । उप गभर्नरले अल–शाबाब आतंकवादीहरू यस आक्रमणको पछाडि रहेको बताउनुभएको छ ।

    प्रहरीले उनीहरूलाई पछ्याइरहेको छ र आक्रमणको उद्देश्य स्थापित गर्न पनि जाँच शुरु भएको छ ।

    यसैबीच अल–शाबाबले यस आक्रमणको लागि आफ्नो समूह जिम्मेवार भएको दाबी गरेको छ ।

  • २८ पुष २०७८, बुधबार १९:२० प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ