बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा मान्छे खाने बाघलाई नियन्त्रणमा लिन त्यस क्षेत्रको सामुदायिक वनमा चार दिनदेखि रांगा बाँधिएको छ । बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिन शिकारका रुपमा राँगा बाधिएको हो । तर बाघको अत्तोपत्तो लागेको छैन । डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खडकाका अनुसार त्यस क्षेत्रमा बाघ हिडेको पन्जा पनि देखिन छाडेको बताए । बाघको पहिचानका लागि कयामेरा जडान गरिएको छ । तर हुस्सु र कुहिरोका कारण क्यामेराले राम्रोसंग काम गरेको छैन ।
रांगाको शिकार नगरेपछि बाघको खोजिका लागि शुक्रबार हात्तीसहित नेपाली सेना परिचालन गरिएको छ । प्राविधिक टोलीले सामुदायिक वनमा बाघ खोज्ने जनाइएको छ । बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारू र बिहीबार राप्ती सोनारी–४ पर्सोनाकी ५३ वर्षीया लीला विष्टको मृत्यु भएको थियो ।
बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्ती सोनारी–१ गाभर र नरैनापुरमा एक–एक जनाको मृत्यु भएको थियो । बाघले विगत एक हप्तादेखि राप्तीसोनारीको बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको छ ।