बर्दिया — सदरमुकाम गुलरिया नगरपालिका—२ खैरापुरमा कृष्णसारको संख्या १९० पुगेको छ । भुस्याहा कुकुर र हुँडारको आक्रमणका कारण कृष्णसारको संख्या बढ्न नसकेको हो । वैशाख १ देखि ७ गतेसम्म कृष्णसारको संख्या गणना गरिएको छ । गणनाका क्रममा भाले ४०,पोथी १ सय १४ र बच्चा ३६ वटा रहेको छ । गत फागुनयता २१ वटा कृष्णसारका बच्चा प्राकृतिक र भुस्याहा कुकुरको टोकाइले मारिएका छन् । बढी जसो हुँडार र भुस्याहा कुकुरले मारेको छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका—२ खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा यी वन्यजन्तु फैलिएर रहेका छन् । ०७१ साल असारसम्म यसको संख्या ३ सय पुगेको थियो । तर बाढीले ४० वटा कृष्णसार बगाएको थियो । ०७४ सालमा १९ वटा कृष्णसार बाढीले बगायो ।
संरक्षण क्षेत्रमा चितुवा, हुँडार, स्यालको आक्रमणमा मारिन थालेपछि उच्च सुरक्षा अपनाएपनि रोकिएको छैन । एक वर्षयता ८५ वटा कृष्णसार मारिएका छन् । तीमध्ये चितुवाबाट ६५ वटा कृष्णसारलाई आक्रमण गरी मारेको थियो । सोही अवधिमा स्याल, हुँडार र कालगतिबाट २० वटा मारिएका छन् । सामान्यतया वर्षमा २ वटा बच्चा जन्माउने यो वन्यजन्तु वासस्थान अतिक्रमणसँगै हुँडार र भुस्याहा कुकुरको आक्रमणको सिकार बन्दै गएको छ । चितुवा र हुँडारबाट बचाउन सके एक वर्षमा कृष्णसारको संख्या तीन सय बढी पुग्ने अनुमान संरक्षणकर्मीको छ ।